अत्यावश्यक कामले काठमाण्डौ उपत्यकामा प्रवेश गर्नुपर्ने व्यक्तिले आफ्नै खर्चमा कोरोनाको आरडिटी परीक्षण गरी सोको रिपोर्टसहित अनुमति माग्नुपर्ने भएको छ ।

गृह मन्त्रालयले काठमाण्डौ उपत्यकाभित्रका सबै स्थानीय तहलाई एक पत्र पठाउँदै यस्तो व्यवस्था गर्न भनेको हो ।

जेठ १ गते गृहमन्त्री रामबहादुर थापा बादलको अध्यक्षमा काठमाण्डौ महानगर, ललितपुर महानगरका मेयर, गृहसचिव, सुरक्षा निकायका प्रमुखहरु, काठमाण्डौ उपत्यका नाका भएका नगरपालिका प्रमुखहरु, तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीसहितको बैठकले यस्तो निर्णय गरेको हो ।

निर्णय कार्यान्वयनका लागि गृहले स्थानीय निकायलाई जेठ ७ गते पत्र लेखेपछि मात्र यो कुरा बाहिर आएको हो ।

काठमाण्डौ उपत्यका प्रवेश गर्ने क्रम वृद्धि हुँदा बढी जनघनत्व भएको काठमाण्डौ उपत्यका क्षेत्र कोरोनाको जोखिममा परेकोले अत्यावश्यक काममा बाहेकको प्रवेश नै निषेध गर्ने र आगमनको स्रोतमै रोक्ने निर्णय भएको थियो । अत्यावश्यक कामका लागि आउनेले समेत आरडिटी परीक्षणको रिपोर्ट पेशसहित अनुमति माग्नुपर्ने र आरडिटीको परीक्षण समेत आफ्नै खर्चमा गर्नुपर्ने निर्णय भएको हो ।

यस्तै, नाका प्रवेशका स्थानीय तहहरु लगायत काठमाण्डौ उपत्यकाका सबै स्थानीय तहहरुले स्थानीय प्रशासनसँग समन्वय गरी आ आफ्नो क्षेत्रमा रहेका होटल, पार्टी प्यालेस, सामुदायिक भवन र अन्य संभाव्य स्थलहरुलाई क्वारेन्टाइन बस्ने स्वयम् व्यक्तिले नै क्वारेन्टिन खर्च व्यहोर्ने गरी संभावित क्वारेन्टिन प्रयोजनका लागि लागत संकलन र अन्य व्यवस्थापनको कार्य अगाडि बढाउन समेत भनिएको छ ।

Visa Travels