सरकारले सार्वजनिक यातायात संचालन गर्न दिने निर्णय गरेको छ ।

मन्त्रीपरिषद बैठकको निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता तथा अर्थमन्त्री डा। युवराज खतिवडाले सार्वजनिक यातायात सञ्चालकले सुरक्षाका मापदण्ड पूरा गरेर यातायात सञ्चालन गर्न सक्ने बताए ।

काठमाडौंको हकमा उपत्यका भित्र (काठमाण्डौ, ललितपुर र भक्तपुर) र बाहिरको हकमा सम्बन्धित जिल्लाभित्र मात्र चल्न पाउनेछन् ।

मन्त्री खतिवडाले ट्याक्सीहरु तत्कालै चल्न सक्ने भए पनि अन्य सार्वजनिक यातायातलाई तयारी गर्न समय लाग्न सक्ने बताए । यसरी ट्याक्सी संचालन गर्दा २ जना मात्र यात्रु राख्न पाइनेछ । परिवारको हकमा २ जना बाहेक ५ वर्षमुनिका बालबालिका पनि राख्न पाइनेछ ।

सार्वजनिक यातायातका साधन संचालन गर्दा स्वास्थ्यका मापदण्ड पूर्ण रुपले पालना गर्नुपर्नेछ । एक पंक्तिको एक सिटमा सामाजिक दूरी कायम हुने गरी एकजना मात्र राख्न पाइनेछ । यात्रुहरुले अनिवार्य रुपमा मास्क लगाउनुपर्नेछ भने सबै यातायातका साधनको ढोका र भित्र स्यानिटाइजरको व्यवस्था गर्नुपर्नेछ । चालक र सहचालकले मास्क, पञ्जा र भाइजर अनिवार्य लगाउनुपर्नेछ भने गाडीलाई दैनिक रुपमा निसंक्रमण गर्नुपर्नेछ ।

भाडा ५० प्रतिशत बढ्यो

यसरी बसमा आधा मात्रै यात्रु चढाउन्जेल ५० प्रतिशत बढी भाडा लिन पाउने भएको छ । अब सार्वजननिक सवारीमा चढ्दा हालको भाडाको आधा थप प्रतिशत पैसा तिनुपर्नेछ । तर, बढेको भाडा कोभिड १९ रहुञ्जेल मात्र लागू हुने बताइएको छ ।

Visa Travels