एनआईसी एसिया बैंक म्युचुअल फन्ड अन्तर्गत सञ्चालित हुने एनआईसी एसिया डाइनामिक डेप्ट फन्डका इकाइहरु २०७७ मंसिर १२ गतेबाट बिक्री खुला गरिने भएको छ। निष्काशन बन्द छिटोमा मंसिर १६ गते र ढिलोमा मंसिर २६ गते बन्द हुनेछ ।
योजना व्यवस्थापकको रुपमा एनआईसी एसिया क्यापिटल लिमिटेड रहेका यो खुलामुखी म्युचुअल फन्डका १० रुपैयाँ अंकित दरका ५० करोड रुपैयाँबराबरको ५ करोड इकाइ निष्कासन गर्न लागिएको हो।
कुल निष्कासन गरिने इकाइको जम्मा १५ प्रतिशत अर्थात ७५ लाख इकाइ कोष प्रबद्र्धक एनआईसी एसिया बैंकलाई सुरक्षित राखी ४ करोड २५ लाख इकाइ सार्वजनिक रुपमा बिक्री खुला गरिनेछ।
लगानीकर्ताहरुले न्यूनतम १०० इकाइदेखि अधिकतम ५० लाख इकाइसम्म खरिदका लागि आवेदन पेस गर्न सक्नेछन्। आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरु मार्फत आवेदन दिन सक्नेछन् ।
खुलामुखी म्युचुअल फन्डका इकाई बन्दमुखीजस्तो नेप्सेमा सूचीकृत हुँदैनन्। योजना व्यवस्थापकमार्फत नै खरीदबिक्री हुन्छ। लगानी गर्दै जाँदा त्यसबाट आउने रिटर्नका आधारमा यस्ता फन्डको न्याभ हेरफेर हुँदै जान्छ र रियल टाइममा कायम न्याभमै लगानीकर्ताले चाहेको समयमा बिक्री गर्न सक्छन्।
क्यापिटलको यो फन्डमार्फत ऋणपत्र, निश्चित रिटर्न आउने लगानीका अन्य औजारहरुमा लगानी गरी इकाईधनीलाई रिटर्न दिनेछ।
निष्काशन तथा विक्री प्रबन्धको रुपमा एनआईसी एशिया क्यापिटल लिमिटेड आफै रहेको छ ।