काठमाडौं । आफ्नो एपबाटमात्रै सेवा लिन र दिन नेपालको राइड सेयरिङ कम्पनी पठाओले आग्रह गरेको छ। सोमबार एक विज्ञप्ति जारी गर्दै पठाओका चालक र यात्रु दुबैले अफलाइन सेवा नदिन र नलिन उसले आग्रह गरेको हो ।

शनिबार मध्यराति एक जना पठाओ राइडरलाई बन्धक बनाएर धापाखेल पुर्‍याइ मोटरसाइकल लुटपाट गरिएको समाचार लगतै कंम्पनीले उक्त संन्देश प्रवाह गरेको हो ।

पठाओले विज्ञप्तिमा भनेको छ। ‘रातको ११ बजेर १८ मिनेट जाँदा सामाखुसीबाट लिएको राइड ११ बजेर ३३ मिनेट जाँदा कोटेश्वरमा टुंगिएको छ। कोटेश्वरदेखि घटनास्थल धापाखेल पुगेको कुनै पनि विवरण पठाओ एपमा उपलब्ध छैन,’ हमालले जारी गरेको विज्ञप्तिमा उल्लेख गरेकी छन्,‘यसरी हेर्दा पठाओको सेवा लिँदै वा दिँदै गर्दा घटना भएको देखिँदैन। उनले बाटोमा भेटेका व्यक्तिलाई बार्गेनिङ गरेर राइड लिएको देखिन्छ, जुन सरासर गलत हो।’

पठाओ अनलाइन राइड सेयरिङ प्लेटफर्म भएको र यसको सेवा लिन र दिन मोबाइल एपमार्फत् बुकिङ गर्न आवश्यक हुन्छ। यसरी सेवा प्रदान गर्दा यात्रा गरिरहेको सवारीको विवरण, सेवाग्राही र राइडर दुबैको व्यक्तिगत जानकारी तथा यात्रा गरिरहेको स्थानको विवरण पठाओको एपमा उपलब्ध हुने पठाओले जनाएको छ।

Visa Travels