काठमाडौं। स्थानीयवासीको अवरोधका कारण यही फागुन १ गतेदेखि काठमाडौं उपत्यकाको फोहोर उठाउन सकिएको छैन। नौ दिनसम्म फोहर उठ्न नसक्दा शहरका हरेक गल्ली तथा चोक दुर्गन्धित बनेको छ। हाल फोहर विसर्जन गरिएको स्थान नुवाकोटको सिसडोलसम्म पुग्ने बाटो मर्मत समयमै नगरेको भन्दै पासाङल्हामु राजमार्गका बासिन्दाले गरेको अवरोधका कारण काठमाडौँ उपत्यकाको १८ स्थानीय तहका फोहर उठाउन सकिएको छैन। यसरी, फोहर विसर्जन हुन नसक्दा उपत्यकाको मुख्य चोकमा फोहर थुप्रिएको छ।
महानगरपालिकाले भने सडक विभागलाई सडकको काम तत्काल पूरागरी स्थानीयवासीको अवरोध हटाइदिन माग गरेको छ। अठार स्थानीय तहको फोहर विसर्जनका लागि दीर्घकालिन समाधानका प्रयास हुन नसक्दा पटकपटक समस्या उत्पन्न भएको कामपा वातावरण विभाग प्रमुख सरिता राईको भनाइ छ। उनका अनुसार २०७० सालदेखि सुरु गरिएको बाटो अहिलेसम्म निर्माण नसकिँदा त्यहाँ पटकपटक स्थानीयवासीले आन्दोलन गरेकाले फोहर विसर्जनमा अवरोध हुँदै आएको छ। ‘यस्तो विषयमा केन्द्र सरकार संवेदनशील हुनुपर्छ’, उनी भन्छिन्, त्यसका लागि बाटो छिटो निर्माण गर्न सम्बन्धित निकायले पहल गर्नुपर्छ।’
सडक बनाउने जिम्मेवारी संघीय सरकारको भए पनि उपत्यकाको फोहर पटकपटक रोकिँदा अपजस भने कामपाले पाउने गरेको छ। हाल बञ्चरेडाँडामा दीर्घकालीन फोहर व्यवस्थापनस्थल निर्माण भइरहेको र निर्धारित समयमा काम सम्पन्न नहुँदा समस्या भएको कामपाको भनाई छ। कामपाले नियमित रुपमा उपत्यकाको फोहर विसर्जन गर्ने हो भने केन्द्र सरकारले छिटोभन्दा छिटो दीर्घकालिन समाधन खोज्न आवश्यक रहेको अन्यथा आगामी बर्खाका समयमा झन ठूलो समस्या आउने देखिन्छ।
काठमाडौं उपत्यकाको १८ स्थानीय तहको फोहर नुवाकोटस्थित सिसडोलमा व्यवस्थापन हुँदै आएको छ। उक्त स्थान पनि भरिएकाले फोहर व्यवस्थापनमा थप समस्या हुन थालेको हो। हाल फोहर व्यवस्थापन भइरहेको स्थानभन्दा दुई किलोमिटर पर बञ्चरेडाँडामा निर्माणाधीन दीर्घकालीन फोहर व्यवस्थापनस्थल निर्माणको काम निर्धारित समयमा सम्पन्न हुन नसक्दा पनि समस्या आएको कामपाको भनाइ छ।