कृष्णा शर्मा

काठमाडौं। महिलालाई पनि समान ज्याला र भोटको अधिकार हुनुपर्छ भन्दै अन्तर्राष्ट्रिय स्तरबाट सुरु भएको आन्दोलनले समान ज्याला र भोटको अधिकार मात्रै दिलाएन, अहिले आफ्नै व्यापार व्यवसाय संचालन गर्न सक्नेसम्मको स्वतन्त्रता प्राप्ति भएको छ। नेपालमा उद्योग, व्यवसाय तथा व्यापारमा संघर्षरत सफल महिला उद्यमीहरुले व्यवसायीका छाता संगठनको नेतृत्व गरी इतिहाससमेत रचेका छन्। यसले गर्दा हाल उद्यम क्षेत्रमा क्रियाशील रहेका र उद्यम गर्न चाहने महिलाका लागि प्रेरणाका स्रोत बनेका छन्।

पर्यटकीय स्तरका होटलदेखि ५ तारे डिलक्स होटेल तथा रिसोर्ट गरी ३ हजार ५ सयभन्दा बढि होटल सदस्य भएको होटेल एसोसिएसन नेपाल (हान) ले पहिलो पटक महिला अध्यक्षको रुपमा सिर्जना राणालाई पाएको छ। यसअघि उद्योग व्यवसायीको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) ले पनि पहिलो पटक २०७४ मा भवानी राणालाई महिला अध्यक्षको रुपमा पाएको थियो।

नेपालमा पछिल्ला दशकमा महिला उद्यमीको संख्यामा समेत वृद्धि देखिएको छ। पारिवारिक व्यवसाय सम्हाल्नेदेखि आफ्नै स–सानो लगानीमार्फत स्टार्टअप व्यवसाय सुरु गर्ने महिलाहरुको पनि संख्या बढ्दो क्रममा छ। यसको सफल उदाहरणका रुपमा खालीसिसीकी संस्थापक आयुषी केसीलाई लिन सकिन्छ। म्हिलाहरु घरको चुल्हो–चौका बाहिर निस्केर अहिले उद्योग, हस्पिटालिटी क्षेत्र, निर्माण र हाइड्रो, हस्तकला, सूचना प्रविधिलगायत क्षेत्रमा सफल र स्थापित छन्।
“सामाजिक न्याय र लैङ्गिक समानताः दिगो विकासको सुनिश्चितता” नाराका साथ ११२ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस विभिन्न कार्यक्रम गरी नेपालमा पनि मनाइँदै छ। यही अवसरमा महिलाहरुले आफ्ना अनुभव, व्यवसायमा आउने उतारचढावको सामना र समाधान यसरी गर्नुपर्ने धारणा राख्छन्ः

भवानी राणा– निवर्तमान अध्यक्ष
नेपाल उद्योग वाणिज्य महासंघ

होटल, ट्राभल्स तथा कृषि व्यवसायमा सक्रिय राणा सकारात्मक सोच र बढी मिहिनेतले नै व्यवसाय क्षेत्रमा स्थापित हुन सघाउने बताउँछिन्। व्यापार, व्यवसायमा महिला सहभागिता बढे पनि केही वर्षअघिबाट जारी कोभिडका कारण यो क्षेत्रमा आउन चाहने र आएका नयाँ उद्यमीहरुलाई बढी प्रभाव परेको छ। नेपालजस्तो सानो अर्थतन्त्र भएको मुलुकमा स–सानो लगानीबाट अघि आएका महिलालाई अझ बढी चुनौती छ। अहिले समस्या छ भनेर मात्रै नहुने र यही बीचमा पनि अवसरमा अन्य आयाम खोज्नुपर्छ। नेपालमा पर्यटन क्षेत्र रिभाइव हुन केही समय लाग्ने भएकाले भ्यालु चेनमा रहेका कृषि उत्पादनमा महिला उद्यमीहरु लाग्नुपर्छ। यसका साथै आइटी पनि अवसरको क्षेत्र हो। महिलाहरु आर्थिक रुपमा सक्षम हुन जरुरी छ। यसका लागि आफूले गर्ने काम र क्षेत्रमा ध्यान दिनुपर्नेछ।

प्रमिला आचार्य रिजाल–अध्यक्ष
साउथ एसियन वुमन डेभलपमेन्ट फोरम

कोभिडको प्रभावले गर्दा सबैलाई चुनौती भए पनि महिलाहरुलाई भने अझ बढी छ। स–सानो लगानीमा महिलाहरुले उद्योग, व्यवसाय संचालन गर्दै आएका हुन्छन्। पुनः लगानी गर्न अलि समस्या हुने हुँदा केही गाह्रो पक्कै छ। त्यसका लागि नयाँ सोचसहित नयाँ ढंगबाट अगाडि बढ्नुपर्ने चुनौती थपिएको छ। जस्तो, अनलाइन व्यवसाय निकै माथि उठेको छ। अनलाइनबाट अहिले व्यवसाय सुरु भएकाले महिलाहरु तयार थिएनन्। यसमा थप तालिम आवश्यक छ र महिलाहरु यसका लागि तयार हुनुपर्छ। महिलालाई अहिले प्रविधिको धेरै जानकारी नहुँदा व्यवसायलाई अघि बढाउन चुनौती देखियो। यसले गर्दा व्यवसाय क्षेत्रमा आउने उतारचढावलाई ध्यान दिएर लगानी र चुनौती वहन गर्न पछि हट्नुहुँदैन। अहिले धेरै महिला सेवा क्षेत्रमा लागेका छन्। पर्यटन, होमस्टे क्षेत्रमा लागेका महिलाहरु बढी प्रभावित छन्। निर्माण र हाइड्रो क्षेत्रमा भने कम महिला छन्। अहिले संस्थागत पहल गरेर नयाँ–नयाँ कार्यक्रम, तालिम तथा अवसर दिने तयारी गरिएको छ। देशमा रहेका कृषि, फलफूल क्षेत्रलाई व्यावसायिक रुपमा अघि बढाउन सकिन्छ।

शारदा रिजाल– निवर्तमान अध्यक्ष
युनाइटेड नेपाल फेल्ट इन्डस्ट्रिज

लिमन नेपाल र युनाइटेड नेपाल फेल्ट इन्डस्ट्रिज कम्पनी स्थापना गरेर उद्योग संचालन गर्दै आएकी रिजालले व्यवसायलाई निरन्तरता दिने कम मात्र हुने गरेको बताउँछिन्। नाफाका लागि मात्रै काम गर्नेले कुनै पनि व्यवसायलाई निरन्तरता दिन नसक्ने हुँदा स्थापित हुन गाह्रो पर्छ। लगानीका लागि बजेट नहुँदा नाफा कमाउनुभन्दा इच्छाशक्ति लिएर अगाडि बढ्नुपर्छ। निर्यात व्यवसाय सजिलो छैन। यसमा धैर्य र लगनशील बढी हुनुपर्छ। तर, अहिले कोरोनाका कारण नयाँ आउनेलाई चुनौती छ। यो क्षेत्रमा आउँदा अवसर र जोखिम वहन गर्न सक्ने क्षमताको विकास हुन्छ। चुनौती व्यवस्थापन र धैर्य व्यवसायमा अपरिहार्य सर्त हो। अहिले महिलाहरुको संख्या बढ्दो क्रममा रहेकाले खुसी पनि लाग्छ। पहिलाको तुलनामा अहिले व्यवसाय गर्न सहज छ। नयाँ प्रविधिले व्यापारमा रहेका अवसर र क्षेत्रहरु सहज रुपमा खोज्न र मार्केटिङ गर्न सघाएको छ। अहिले आइटी क्षेत्र पनि लगानीका लागि राम्रो प्लाटफर्म हुन सक्छ। इच्छा राखे गर्न सकिने अवस्था छ भने अर्काेतर्फ तीव्र प्रतिस्पर्धाका कारण चुनौती भएकाले इनोभेटिभ तथा क्रियटिभ हुन भने जरुरी छ।

निरु रायमाझी खत्री–अध्यक्ष
नेपाल महिला उद्यमी महासंघ

कुनै समय चुलोचौकोमा मात्रै सीमित रहेका महिला केही वर्ष यता व्यवसायमा संलग्न हुनुलाई समाजमा भएको परिवर्तनका रुपमा लिन सकिन्छ। यद्यपी कोभिडका कारण व्यवसाय संचालनमा भने समस्या आएको छ। जसकमा कारण परम्परागत तरिका भन्दापनि नविनतम सोचका साथ भित्रनुपर्ने आजको आवश्यकता छ। म्हिलाहरु आर्थिक रुपमा सक्षम बन्नुपर्ने हुँदा व्यवसायमा नयाँ फड्को मार्नुपर्ने हुन्छ। व्यवसाय गर्न त्यति सजिलो पनि छैन। लगानी डुब्ने डर एकातिर छ भने अर्कोतर्फ घरपरिवारबाट थप पूँजी लगाउन नदिने अर्को डर रहेको छ। त्सर्थ कुन क्षेत्रमा रहेर व्यवसाय गर्ने भन्नेमा सर्वप्रथम गहिरो अध्ययन गर्नुपर्छ अनि मात्रै सुरु गर्दा त्यसबाट राम्रो प्रतिफल लिन सकिन्छ। ऋहिले बजारमा प्रतिस्पर्धा धेरै रहेको हुँदा सर्वप्रथम त आफूलाई सोही अनुसार तयार पार्नेपर्यो। पर्यटन, आइटी, अनलाइन बिजनेस लगायतमा धेरै अवसर रहेको हुँद नव उद्यमी महिलाहरु यसतर्फ प्रवेश गर्न सक्छन्। यद्यपी व्यवसाय गर्दा जोखिम वहन गर्ने क्षमतासहित अघि बढ्न जरुरी छ।

Visa Travels