शशिशेखर घिमिरे।
पाटन शहरका भित्रि गल्लीहरु मात्र हैन यहाँका अनेक मल्लकालिन सम्पदाहरुको विशेष महत्व रहेको छ। यहि शहरमा विगत एक सय दश वर्षअघि सञ्चालनमा आएको नेवारी खाजा घर ‘होनचा’को कथा अलि बेग्लै छ। जतिबेला थोरै मानिसहरु रहेको यसै शहरमा किसलाल व्यञ्जनकारले सानो खाजा घरको शुरुवात गरे। जहाँ सीमित नेवारी खाजाका परिकार बेच्ने गरिन्थ्यो।
पाटन आफैंमा पातलो जनसंख्या भएको सानो शहर थियाे त्यतिबेला। जहाँ अहिले जस्ताे होटल, रेष्टुरेन्टहरुको नामोनिसान थिएन।
किसलाल जतिवेला यौवन उमेरका थिए, त्यतिवेला उनले घरखर्च चलाउन शुरु गरेको त्याे खाजाघर पाटन दरवार क्षेत्रको आडैमा भीमसेन मन्दिरसँगै थियो। बाजेले बाबुलाइ अनि बाबुले आफूहरुलाइ भनेका त्यहि कुरा नातिनि मेरिनाले सुनाइन्।
त्यसयता पुर्खाको नासोलाई छोरानातीहरुले क्रमश थातीमात्र राखेनन् चारैतिर नाम कमाउन सफल ब्राण्डको रुपमा स्थापित गरे।
स्वर्गीय किसलाल ब्याञ्जनकर पछि उनका दुई छोरा नारायण ब्याञ्जनकर र पूर्ण ब्याञ्जनकरले कामलाइ निरन्तरता दिए। याे दोस्रो पुस्ताकाे कुरा थियाे। जसले आफ्नाे बाबुकाे कामलाइ सम्हाले।
त्यसपछि अहिले उनकै सन्तानले चलाउँदै आएका छन्। ‘होनचा द कृष्ण मन्दिर’, ‘होनचा भीमसेन मन्दिर’ र नातिनीहरुकाे ‘थ्रीजी होनचा’। जसलाइ दुई दीदीबहिनीले धान्दै आएका छन्।
किसलाल बाजेले थालनी गरेको त्यहि होनचाको नाममा स्थापीत थ्रीजी होनचाका साथै अरुमा हुने व्यापार लोभलाग्दो देखिन्छ। छुट्टै ब्राण्डको रुपमा स्थापीत हुँदै गएका छन् यी नेवारी खाजाघर। पुराना शैलीका काठले बनेका घरहरु नै होनचाको पहिचान हो।
थ्रीजी हाेनचा अर्थात नामैले थर्ड जेनेरेसन। यहि थर्ड जेनेरेसन र यसले गरेकाे आक्रामक व्यापार आफैमा चासाेकाे विषय हाे।
आज हामी यही थ्रीजी होनचामा केन्द्रीत हुँदैछौं।
मेरिना ब्याञ्जनकर (मैया) र सरस्वती जाेशीले धानेका छन् थ्रीजी हाेनचालाइ। स्वठमा रहेकाे याे नेवारी खाजा घर युवापुस्ताकाे सवै समुदायकाेलागि राेजाइकाे गन्तव्य बन्न पुगेकाे छ।
हातमा कापी लिएर खानाकाे हिसावकिताव राखिरहेकी मेरिनाले भनिन्,” खै सँधै यस्तै हाे, कति मानिसहरु त बस्ने ठाँउ नभएर फर्कनु हुन्छ,” उनले सुनाइन्।
सरस्वती जोशी भने परिकार पकाँउदै गरेकी हुन्छिन्। दुइ जनाबीचकाे उमेर त्यति फरक देखिन्न।
आधुनिकतासँगै शहरमा अनेक फेन्चाइजहरुको शुरुवात भयो। चिकेनकै नयाँ र थरिथरिका स्वादहरु बगलीमा पैसा छ भने सजिलै खान पाइने भयाे। अनलाइन मार्फत अर्डर गरे छणभरमा नै घर वा कार्यालयमा आइपुग्ने समयमा नेवारी खाजालाइ टिकाइराख्नु आफैंमा चुनौती थियाे।
यासका बाबजूद हाेनचाले विदेशी खानेकूराको पेलानमा टसमस नभइ निरन्तर शहरमा नेवारी खाजा विक्रि गरि नै रह्याे। ‘थ्रीजी होनचा’ आफ्नो छुट्टै पहिचान बनाउन सफल हुँदै गएको छ। जहाँ आठ देखि दशजना खानेकुरा बनाउने, पाहुनालाई दिने र सफासुग्घरमा तल्लीन देखिन्छन्।
सुविधायुक्त बसाइसँगै खान पाइने होनचा अर्को अर्थमा दोश्रो घर हो ग्राहकहरुको। जहाँ स्वस्थ्यकर नेवारी खाजाका अनेक परिकार आफ्नै रोजाइ र इच्छा अनुसार खान पाइन्छ। खाँदाखाँदै नगदै पैसाकाे अभाव नजिकै भित्तामा रहेकाे माेवाइल क्युआर काेड स्कायन गरेर पूरा गर्न सकिन्छ।
बढ्दो व्यस्त शहरमा फास्टफुड खाने चलन बढ्दै गइरहेको छ। मानिसहरु जतिसक्दो मेशिन जीन्दगी बाँचीरहँदा पाटनको होनचाभित्र घण्टौं बसेर साथीभाइसीत गफिदैं खानुको मज्जा बेग्लै देख्छन् कास्की चाउथेका विवश शर्मा। “म यहाँ बेलाबखत आइरहन्छु, विषेश मलाइ यहाँको हरियो लसुनमा साँधेको पिरो चिकेन छोयला मन पर्छ, अनि यहाँको अरु नेवारी खानेकुरा,” थ्रीजी होनचाको तेश्रो तल्लामा खाँदै गरेका शर्माले सुनाए।
“हामी कहाँ समयबजी सेट जसभित्र (चिउरा, भटमास, अचार, बोडी, आलु, छोयला, तामा, गुन्द्रक, बारा, योमरी) देखि चतामरी, कचिला, जीव्रो, खागो गरि चालिस थरिका नेवारी खानेकुरा पाइन्छ“, मेरिना व्यञ्जनकारले सुनाइन।
सहरमा नेवारी परिकार खान चाहानेको रहरलाइ मध्यनजर गरेर सञ्चालीत छ होनचा। नेवारी पर्व बाहेक प्रायजसो खुल्ला रहने खाजा घरमा विशेष गरि राँगाका मासुजन्य परिकार पाक्ने गरेपनि राँगाको मासु नखानेहरुकालागि चिकेन छोयला खान पाइन्छ। ग्राहककाे इच्छालाइ बुझेर रातकाे ९, साँढे नाै बजेसम्म चल्छ व्यापार।
बाजेहरुको मिहिनेतलाई आज नाति पुस्ताले खाइरहेको छ। व्यापार मार्फत नाम र दाम कमाइ रहेको छ।
छोटो समयमै लगानीको प्रतिफल खोज्नेहरुकालागी एक उदाहरण हो होनचा। जाे व्यापारमा हात हालेकाे छाेटाे समयमा नै प्रतिफलको सपना देख्छन्।
व्यापारको राज के हो ? भनेर उत्सुक जोकोहीले त्यहाँ पुगेर सोध्ने हो भने एउटै उत्तर आउँछ।
“ बाजेको लगानी “
भुँइतलाको भित्तामा निरन्तर झुन्डिएको बाजेको त्यहि तस्वीर नै उनीहरुको व्यापारको शक्ति हो। जो निभेको धेरै वर्ष भइसक्दा पनि जीवित झै लाग्छन् नातीनातीनाहरुलाई।
काठमाडौ उपत्यकाको तीनवटै जिल्लामा गल्ली गल्लीमा सञ्चालित साना भट्टि (नेवारी खाजा घर) मार्फत विगतदेखि नै नेवार समुदायले ब्यापार गर्दै आर्थिक गर्जोको आधार बनाँउदै आएको मान्न सकिन्छ।
जहाँ भोक मेटाउन मानिसहरु छिर्ने गर्थे। आज ती मध्य कति हराँउदै गए। कतिले काम नै छाडे। कति अर्को पेशा तर्फ तानिए। तर जसले निरन्तर बाबुबाजेको कामलाइ निरन्तरा दिए, उनीहरु आज हुने भए सुनको माम खाने हैसियतमा पुगेका छन्।
यति धेरै ग्राहक यहाँ आउनुको खास कारण भनेकै सस्तो र मिठो नेवारी खाजा प्रतिको आर्कषण हो। अनि उनीहरुको तीनपुस्ताको योगदान रहेको बताँउछन् ललितपुर टीकाथलीका पवन केसी। “हजुरबाहरुको लगानी हो यो,” खचाखच भरिएको खाजा घरको बाहिरै खाजा खाइहेका केसीले सुनाए “हैन, तपाइको यो ठाउँमा हामी बच्चा नै देखि आउने गरेका थियौ। पहिला यहाँ थिएन याे। यहाँ नातीनीहरुले चलाएका हुन्,” उनले सुनाए।
विषेशगरि बाबुबाजेको पेशालाइ लात मारेर अर्कै व्यवसाय वा काममा रमाउने चलन छ हामीकहाँ। धेरै थाेरैले मात्र त्यसलखाले कामलाइ निरन्तरता दिएका हुन्छन्।
हाेनाचाको आजको व्यापारको बारेमा पुग्न मेरिनाहरुको बाजेको समय फर्किनु पर्ने हुन्छ। जतिबेला पाटनको कृष्ण मन्दिर पछाडीको सानो ठाँउबाट होनचाले बिस्तारै सहर बजारका मानिसहरुलाइ नेवारी खाजाको स्वाद चखाउन थालेका हुन्। “हाम्रो बाजेहरुले शुरु गर्नु भएको हो, हामीले यहि काम गर्न थाल्याै,” उनले सानाे स्वरमा सुनाइन्।
थ्रीजी होनचाले सहरमा भोक किन्नेहरुलाई वस्तु वेचेर सेवा दिदै आएकाे छ। मौलिक नेवारी खानेकुरालाइ क्रमश आफ्नो नातिपुस्तालाई समेत देखाउदै लान सफल भएकाे छ।
विशेषत मैदाको पिठोमा बन्ने मोमले बजार पिट्दै लगेको समयमा नेवारी खाजा घरले स्वास्थ्यको दृष्टिकोणले राम्रो मानिने चामलको पिठोको य: मलि बेच्न छाडेको छैन। नेवार समुदायको विशेष पर्व य: मली पुन्हेमा मात्र बनाइने चाक्कु हालिएको य: मलीलाई खुवाको स्वादमा ढाल्दै सवैको जीव्रोमा चखाउने श्रेय पनि जान्छ होनचाकाे नयाँ पुस्तालाइ।
होनचाको नेवारी खाजा घरको स्वादमा रमाउन लेखक, कलाकार, पत्रकार देखि राजनितिज्ञ सम्मै पुग्ने गरेको निर्देशनकाे क्षेत्रमा समेत रहेका पवन केसीले फेरी बताए। “हैन, म खान आउँदा धेरै नाम चलेका मानिसहरु आउने गरेको देखेको छु, नारायण दाइ (नारायण वाग्ले) अस्ती आँउदा त्यहि बसेर खादै हुनुहुन्थ्यो,“ नजिकैको टेवल देखाउदै पवनले भने। “हामी त अब ललितपुरकै भएकाले पनि उहिले देखि नै आउथ्यौ,“ समयबजी खाइ रहेका पवनले सुनाए।
पाटनको कलाकृती नियाल्दै शान्त बाताबरणमा खाँदै रमाँउनेहरुको लागी जोकोहिको रोजाइमा पर्दै आएको छ थ्रीजी होनचा। अर्थात तीन पुस्ते इतिहासलाई जिबन्त राख्दै सहरमा नेवारी खाजाको व्यापारकाे शुरुवात गरेका उनै होनचा बाजेको तेहि पसिना चुहिएको झै लाग्छ आजकाे खाजा घरहरुमा।
बाबुबाजेले ब्यबसायमा हात हालेकै कारण तिनका सन्तान दरसन्तानहरुले आज आफ्नै टोलमा दैनिक घटिमा पच्चीस देखि बढीमा चालिस हजारसम्मकाे व्यापार गर्दै आएको छ। देशभित्रै माैलिक नेवारी खाजा मार्फत व्यवसाय चलाएर आर्थिक रुपमा सवल बनेकाहरुकाे याे काम जाेकाेहीकाेलागि पनि प्रेरणाकाे श्राेत बन्न सक्छ।
सहरका साना गल्लीहरुमा पनि सानै मानिएकाे व्यापारले कसरी मानिस सफल हुनसक्छ भन्ने उदाहरण पनि हाेनचाकाे इतिहास पल्टाएर उनका पुस्ताले चुहाँउदै गरेकाे तिनका दिनरातकाे मिहिनेत र परिश्रम नियाल्दा थाहा हुन्छ।