samsara creation recycling business

कृष्णा शर्मा

काठमाडौं। पछिल्लो समय विश्व बजारमा निकै बढ्दो ट्रेन्डमा रहेको छ अपसाइक्लिङ अर्थात फोहोर सामाग्रीलाई पुन प्रयोग गरेर नयाँ वस्तुमा परिणत गर्नु हो अपसाइक्लिङ प्रक्रिया। बढ्दो वातावरण प्रदूषणलाई कम गर्न अहिले विश्वभर नै अपसाइक्लिङलाई निकै समर्थन गरिएको पनि छ। विश्व बजारमा अवलम्बन गरिएको उक्त ट्रेन्ड केही समययता नेपालमा पनि भित्रिन थालेको छ। हरेक दिन तिब्र परिमाणमा उत्पादन हुने गरेको फोहोरका कारण वातावरण प्रदूषणमा ठूलो असर पुर्याउँने हुँदा वातावरण प्रदूषणलाई कम गर्न अहिले नेपालमा पनि केही कम्पनी लागि परेका छन्। सोही उद्देश्यका साथ केही समय अघि जन्मिएको कम्पनी हो सम्सारा क्रियसन।

सम्सारा क्रियसन अर्थात एक सामाजिक उद्यम, जसले अपसाइक्लिङ र प्राकृतिक रुपमा उपलब्ध स्रोतहरुबाट वातावरणमैत्री सामान उत्पादन गरिरहेको छ। जावलाखेलस्थित यस सम्सारा क्रियसनले विगत २ वर्षदेखि पुराना जिन्सका कपडाबाट नयाँ तथा आकर्षक सामान उत्पादन गर्दै बजारमा बिक्रीसमेत गर्दै आएको छ।

यसरी जन्मियो सम्सारा क्रियसन

अलग–अलग कलेजबाट ब्याचलरको पढाई पूरा गरेका कुशल अछामी, अजित भट्ट र जिय केसी काठमाडौं विश्वविद्यायलमा पुगेर एक आपससँग ठोकिए। अजितले सोसल वर्कमा ब्याचलर सकेका थिए भने कुशलले बिजनेश एड्मिनिस्ट्रेशनमा र विजयले इन्भाइरोमेन्टलमा आफ्नो ब्याचलरको पढाई पूरा गरेका थिए। यसरी फरक–फरक कलेजबाट ब्याचलर सकेका यी ३ को सुरुमा एकआपससँग कुनै चिनजान थिएन। तर आफ्नो पढाईलाई निरन्तरता दिने क्रममा सन् १०१७ मा काठमाडौं विश्वविद्यालयको स्कुल अफ आर्टसको मास्टर इन डेभलपमेन्ट स्टडिजको शिलशिलामा ३ जानको एकआपससँग भेट हुन पुग्यो।

मास्टरको तेस्रो सेमेस्टरमा आन्ट्रप्रेनरसम्बन्धी अध्ययन गर्दा उनीहरुलाई कलेजले एक असाइनमेन्ट दिएको थियो। कलेजले दिएको उक्त असाइनमेन्ट अन्तर्गत सबै विद्यार्थीले बिजनेश प्रोजेक्ट बुझाउनुपर्ने थियो। जसका लागि विद्यार्थीलाई अलग–अलग समूहमा विभाजन गरिएको थियो। यसैक्रममा कुशल, अजित, विजयका साथै अन्य केही विद्यार्थी एकै समूहमा परे। नविनतम आइडियालाई लिएर अब कस्तो प्रोजेक्ट बनाउँने त भनेर उनीहरुले विभिन्न सोच निकाले। यसैक्रममा फोहोरबाट नयाँ उत्पादन सिर्जना गर्ने अवधारणालाई अँगालेर प्रोजेकटको रुपमा काम गर्ने निष्कर्ष निस्कियो। जसलाई नाम दिइयो ‘वेस्ट टु आर्ट’। अर्थात फोहोराबाट कलाको सिर्जना। यसरी कलेजको एक प्रोजक्टलाई पछि उनीहरुले उद्यममा नै अघि बढाउँने निर्णय गरे जसपश्चात सम्सारा क्रियसनको जन्म भयो।

कलेजको प्रोजेक्ट बन्यो व्यवसायीक यात्राको फड्को

सम्सारा क्रियसनले सन् २०१९ देखि व्यवसायीक यात्रा सुरु गर्यो। कलेजको प्रोजेक्टमासँगै काम गरेकामध्येबाट समान विचार भएका ६ जनाको टीमले वेस्ट टु आर्ट प्रोजेक्टलाई व्यवसायीक दृष्टिकोणबाट अघि बढाउने सोच बनाएका थिए। जसपश्चात सम्सारा क्रियसन नामक कम्पनी स्थापना गरेर उद्यमको यात्रा सुरु गरे। उक्त सम्सारा क्रियसनमा सीईओका रुपमा रहेका छन् कुशल अछामी भने प्राजेक्ट प्रमुखमा छन् अजित भट्ट। त्यसैगरी प्रोजेक्टको लागि थप अनुसन्धान गर्ने काम भने विजय केसीले गरिरहेका छन्।

कलेजको प्रोजेक्टमा काम गर्नु अवागै उनीहरुले मास्टर दोस्रो सेमेस्टरमा फोहोरसम्बन्धी रिसर्च गरेका थिए। जतिबेला अजित दिगो विकास लक्ष्यहरु (एसडीजी) हबमा संयोकजको रुपमा आवद्ध पनि थिए। “प्रोजेक्टको लागि नै फोहोरको रिर्सच गर्दा निकै पूरानो डाटा भटिन्थ्यो कुशल विगतका दिनलाई सम्झदैँ भन्छन्, सन् २०१९ मा रिसर्च गर्दा हामीले सन् २०१२ तिरको मात्रै तथ्यांक भेटाउँथ्यौं। त्यसपछिका अपडेटहरु भने खासै थिएनन्।” त्यसैले पनि हामीले यसमा निकै अध्ययन गरेका थियौं। फोहोर व्यवस्थापनको अवस्था र के कति उत्पादन हुने रहेछ त भनेर यसमा नै लागि परेका थियौं, कुशलले थप बताए।

अध्ययनका क्रममा हामीले वेस्ट टु आर्ट अवधारणामा काम गर्न सकिने निष्कर्ष निकालेका थियौं, सहसंस्थापक अजित भन्छन्। “हामीले सुरुमा टेक्सटाइल वेस्टलाई अपसाइकल गरेर त्यसबाट नयाँ प्रडक्ट बनाउँने सोच बनाएका थियौं। तर त्यसबाट के बनाउँने त भन्ने थियो। र सुरुमा हामीले कुशन बनायौं। त्यस्तै वाइनको बोटलहरु प्रयोग गरेर ल्याम्प तयार पार्यौं र प्रयोग नगरिने पुराना जिन्सबाट भने ब्यागहरु बनाएका थियौं।

उद्यम सुरु गर्न त्यतीबेला उनीहरुले मात्रै ५४ हजार रुपैयाँ लगानी गरेका थिए। कलेजको क्यान्टीनमा बसेर जन्मिएको आइडियामा कसरी काम गर्ने त भनेर उनीहरु यसमा दिनरात खटिरहे। दैनिक उत्पादन हुने फोहोरले वातावरण प्रदुषणमा नै चुनौती थपिरहेको समयमा यसको व्यवस्थापनमा काम गर्न सके निकै सहयोगी भुमिका खेल्न सकिने उनीहरुको सोच थियो। वातावरण प्रदुषण कम गर्न यसरी पुराना कपडालाई पुनः प्रयोगमा ल्याउन सकिन्छ भनेर सन्देश पनि दिन खोजेको कुशलले बताउँछन्। त्यसैमा अजित थप्छन्, ‘यो आइडिया परिष्कृत गर्दै गयौं र टेक्सटाइल वेस्टलाई विशेष गरी जिन्सलाई अपसाइकलिङ गरेर झोला, टोपी जस्ता विभिन्न सामाग्रीहरु बनाउने आइडियामा काम गर्ने थाल्यौं।’

चुनौतीका माझ सफलता

कलेजको एक प्रोजेक्टलाई उद्यमका रुपमा अघि बढाएर उपभोक्ता माझ प्रस्तुत गर्न त्यति सजिलो पनि कहाँ थियो र? नयाँ तथा इको फ्रेन्डली सामान भएको हुँदा सजिँलै बिक्री हुन्छ भन्ने हाम्रो सोच थियो। तर, पुराना कपडा लगायतलाई अपसाइकल गरेर उत्पादन गरिने सामानलाई हेर्ने आम उपभोक्ताको नजर नै फरक पाउँने गरेको उनीहरुले आफ्नो अनुभव सुनाए। पुराना कपडा प्रयोग गरेर बनाइएका भन्ने बित्तिकै मानिसहरु त्यो सामान प्रयोग गर्न हिच्किचाउने वा लाज मान्ने हुँदा व्यवसायलाई कसरी निरन्तरता दिने भन्ने विषय चुनौतीको रुपमा देखिएको थियो।

“हामीले अगस्ट २०१९ मा डीएभी कलेजमा आयोजित बिजफेस्टमा आफ्नो उत्पादनहरुको बजार परीक्षण गरेका थियौं, अजित भन्छन्, तर त्यहाँ हामीले आफ्नो उत्पादन बेचेनौं। हाम्रो उत्पादनहरुका बारेमा त्यहाँ आउने सबैसँग प्रतिक्रिया लियौं। सोही क्रममा यस व्यवसायमा चुनौतीहरु देखा परे, तरपनि हामी पछि भने हटेनौं।”

वतावरणसँग सम्बन्धीत विषयलाई लिएर नेपालजस्तो मुलुकमा स्र्टाटअप व्यवसाय सुरु गर्नु आफैंमा एक ठूलो चुनौती रहेको कुशल पनि बताउँछन्। उत्पादन र बजार मागजस्ता विषय निकै गम्भीर हो। “उपभोक्तालाई वातावरणमैत्री यस प्रकारको सामानको बारेमा बुझाउँनु र उनीहरुको विश्वास प्राप्त गर्नु निकै गाह्रो काम बन्यो कुशलले आफ्नो अनुभव सुनाउँदै भने किनकी नेपालका थुप्रै मानिसहरु अझैपनि वातावरणमैत्री सामान प्रयोग गर्नेबारे सचेत बनिसकेका छैनन्। जसका कारण बजारमा आफ्नो सामान कसरी पुर्याउने भन्ने हाम्रो चिन्ताको विषय थियो। त्यसका लागिपनि हामीले थुप्रै रिर्सच गर्यौं। अनेकौं प्रकारका चुनौतीका माझ पनि हामी अघि बढ्यौं”

अजित थप सुनाउँछन्, त्यसपछि हामीले हाम्रो परिवार र साथी सर्कलमार्फत प्रयोग गरिएको जिन्स संकलन गर्न थाल्यौं। तर जिन्स संकलन गरेरमात्रै त भएन त्यसबाट सामान पनि उत्पादन गर्नुपर्ने थियो। हामीलाई सामान बनाउँन पनि निकै समय लाग्यो। नयाँ फ्याब्रीकबाट जति सजिलोगरी सामान बन्थ्यो पूरानोबाट निकै गाह्रो हुने रहेछ। त्यो पनि हाम्रो लागि एक प्रकारको चुनौती नै थियो–उनीहरुले बताए।

“त्यसैगरी सामान बनाउँनका लागि हामीलाई सिलाई गर्ने मान्छेपनि भेट्न गाह्रो भएको थियो, कुशल भन्छन्, किनकी यो सामान्य अरु कपडाजस्तो थिएन। जिन्सको कपडा जोकोहीले पनि सिलाउँन नमान्ने हुँदा हामीलाई कामदार पाउँनै मुश्किल भएको थियो। जिन्समा स्टिच गर्न गाह्रो हुन्छ। तर जसोतसो थानकोटमा २ जना दिदीहरुले काम गर्न सहमत हुनु भयो र उहाँहरुलाई नै हामीले आफ्नो सामान बनाउँन दिन थाल्यौं।”

टोपीदेखि ब्यागसम्मका सामान

थुप्रै बाँधाकाबीच पनि सम्सारा क्रियसनले पुराना जिन्सबाट विभिन्न प्रकारका ब्यागहरु उत्पादन गरेर बजारमा ल्याउँन सफल बन्यो। टोट ब्याग, राउण्ड ब्याग, कम्मर ब्याग, बकेट झोला, जिन्सका ह्याटहरु, स्कार्फ, टाई लगायतका सामान सम्सारा क्रियसनले सुरुमा उत्पादन गर्यो। तर उतपादनलाई अब बजारमा लगेर कसरी बेच्ने भन्ने एक प्रकाकारको दुविधा पनि थियो। किनकी ती सामानहरु सबै पुराना जिन्सबाट बनेका जो थिए।

अपसाइकल प्राडक्टलाई उपभोक्ताले हेर्ने नजर राम्रो नपाएको हुँदा उनीहरुले आफ्नो बिजनेस डेभलपमेन्टमा धेरै काम गर्न आवश्यक छ भनेर पनि महसुस गरेका थिए। तर, उही समयमा कोभिड–१९ को महामारीले विश्वलाई आक्रान्त पार्यो। नेपाल पनि यसबाट अछुतो रहेन। बिक्री पनि न्यून थियो। त्यसपछि, उनीहरुले विभिन्न इन्क्युबेसन कार्यक्रमहरुमा भाग लिन थाले। उनीहरुले उत्पादन प्रोटोटाइपमा र बिजनेस डेभलपमेटमा पनि काम गर्न थाले। यसै क्रममा, उनीहरुले ब्लिङ्क भेन्चर्सद्वारा आयोजित उद्यमी युवा च्यालेन्ज २०२० मा पनि भाग लिए र २५ हजार रुपैयाँ अनुदान पनि हात पारे। जसले उनीहरुमा आत्मविश्वास बढायो।

लकडाउनको बेलामा सेल्स एकदमै न्यून थियो। त्यसैले हामीले विभिन्न सेवा नेपाल लगायत थुप्रै एनजीओ/आईएनजीओसँग सहकार्य गरी वित्तीय र डिजिटल साक्षरता प्रवद्र्धनमा काम पनि गर्यौं–अजितले भने।

अजितका अनुसार, सन् २०२१ को सुरुआतमा बजारको आवश्यकता बुझेर उनीहरुले आफ्नो उत्पादनको लाइन विस्तार गर्दै प्रकृतिमा आधारित सामानबाट बनेका उत्पादनहरु जस्तै हेम्प ब्याग, टोपी, ढाका टाई, इम्ब्रोइडरी हुप आर्ट, स्टोरेज बास्केट, गिफ्ट बन्डल आदि पनि भित्राए। कम्पनीले अहिले हेम्प, अल्लो, अर्गानिक कटन लगायतका वस्तुबाट नयाँ सामान उत्पादन गर्दै आएको छ। ती सामानहरुको मूल्य न्यूनतम १५० रुपैयाँदेखि माथि छन्। जसमापनि ब्यागको मूल्य भने ७५० देखि १८०० सम्म पर्ने गरेको छ। ग्राहकले कम्पनीको वेभसाइट, फेसबुक पेज लगायतबाट आफूलाई मन परेको सामान सजिलै अर्डर गर्न सक्ने उनले जानकारी गराए। साथै आफ्नो प्रडक्टलाई सकेसम्म सस्तो मूल्यमा बिक्री गर्न २० प्रतिशत मात्रै मार्जिन राखेर काम गर्दै आएको उनले स्पष्ट पारे।

सहकार्यका साथ अघि बढ्दै

सम्सारा क्रियसनले हाल अन्य संस्थाहरुसँग पनि सहकार्य गर्दै अघि बढीरहेको छ। खालीसिसी डटकम र डोको रिसाइकलर्ससँग सहकार्य गरी वेस्ट संकलन गर्दै आएको कुशलले जानकारी गराए। यसका साथै, विभिन्न स्थानका सिलाई गर्ने व्यक्तिसँगपनि सहकार्य गरेर अघि बढेको उनको भनाई छ। विभिन्न स्थानका लोकल आर्टिसनसँग मिलेर काम गर्दै अघि बढिरहेको उनी बताउँछन्।

देशमा रोजगारीको अवसर नपाएर विदेश जाने युवाहरुको लर्को नै छ। तर, यी युवाले भने देशमा केही गर्न सकिन्छ भन्ने उदाहरण पनि दिएका छन्। उद्यममार्फत उनीहरुले हाल प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा गरी करिब ५० जनालाई रोजगारी दिइरहेका छन्। कपडा धुनेदेखि कटिङ गर्ने तथा सिलाउाने सबैसँग जाडिएर उनीहरुले आफ्नो व्यवसायलाई अघि बढाएका छन्।

उनीहरुसँग हाल करिब ४ सय जना कस्टमर छन्। जसले उनीहरुको प्रडकटलाई पटक–पटक खरिद गर्ने गरेका छन्। सामानको बिक्रिपश्चात अहिले निकै राम्रो प्रतिक्रिया पाउँने गरेको हुँदा यी युवावाहरु अहिले आफ्नो व्यवसायबाट निकै खुशीपनि छन्। सम्सारा क्रियसनले आफ्नो अफिसमै आएर खरिद गर्दा वा खरिदकर्ताले प्रयोग गरिएको जिन्स डोनेट गर्दा प्रत्येक सामानमा १० प्रतिशत छुट पनि दिने गरेको अजित बताउँछन्।

“हामीले सुरुमा जम्मा ५४ हजार रुपैयाँ लागनी गरेर यो व्यवसाय सुरु गरेका थियौं, अजित भन्छन्, सुरुमा केही समस्या भएपनि हाल भने त्यस्तो केही पनि छैन। अहिले त हामीले आफ्नो सीड मनिबापतको त्यो ५४ हजार रुपैयाँ पनि उठाइसकेका छौं। व्यवसायी राम्रोसँग चलेको छ, त्यसैले हामी यतिबेला नाफामै रहेर काम गरिरहेका छौं।”

आगामी यात्राः अन्तर्राष्ट्रिय बजारसम्मको

वातावरण प्रदूषण कम गर्नका आम नागरिकलाई वातावरणमैत्री सामान प्रयोगसम्बन्धी सचेतना प्रदान गर्नु नै सम्साराको मुख्य लक्ष्य रहेको छ। वतावरणलाई जोगाउन इको फ्रेन्डली सामानको प्रयोगमा सबैलाई जोड दिँदै अघि बढ्ने सम्साराको तयारी छ।

यससँगै अगामी दिनमा आफ्नो सामानलाई अन्तर्राष्ट्रिय स्तरमा पुर्याउने अर्को लक्ष्य रहेको कुशल बताउँछन्। पहिले नेपालभित्रै यसलाई विस्तार गर्ने र त्यसपछि भने अन्तर्राष्ट्रिय बजारमा पुर्याउने तयारी रहेको उनले जानकारी गराए। यसबाहेक प्रोडक्टहरु पनि क्रमिक रुपमा थप्दै जाने तयारी छ। कुशल भन्छन्, ‘हामीले अब मौसम अनुसारका कपडा, बीटुबी व्यापारका लागि इको–फ्रेन्डली गिफ्ट प्याकेजहरु पनि ल्याउने तयारीमा छौं। यस्तै व्यापक रुपमा जिन्स वेस्ट संकलनको योजनामा पनि काम गर्दैछौं।’

यसमा थप्दै सह–संस्थापक अजितले भने हालसम्म काठमाडौंमा मात्रै आफ्नो उत्पादन बजारमा पुर्याएकोमा अब भने पोखरामा पनि लैजाने तयारी रहेको छ।

 

Visa Travels