शशिशेखर घिमिरे।

झण्डै बयालीस वर्षअघिको कुरा। जतिबेला काठमाडौं शहरमा हातमा गन्न सकिने पान पसल थिए। त्यतिबेला पानका सौखिनहरू त्यति धेरै थिएनन्। राजामहाराजाहरूका सन्तान र राणा खलकले मात्र आफ्नो लत र सोख मेट्न पान खाने गर्थे।

मुख नै रातो हुने गरि जसले पान खान्थ्यो, त्यो नै शहरमा नामी र दामी मानिसको रुपमा कहलिन्थ्यो। त्यही समयमा ललितपुरको पुल्चोकमा केही पानको पात र त्यसमा अरु खित्रिङमित्रिङ राखेर सानाे पान पसलकाे शुरुवात भयाे। 

लमजुङका टेकबहादुर अधिकारीकाे जन्म त्यहाँकाे भातिसिरुवारी भन्ने गाँउमा भएपनि उनको शिक्षादीक्षा भारतमा बित्यो। बाबु भारतीय पल्टनमा जागिरे भएकै कारण टेकबहादुर सानैमा उतै पुगे। पछि २०२५ सालमा उनी देहरादुनबाट नेपाल फर्केर आए।

बाबुले भारतीय सेनामै जागिर खान गरेको आग्रहलाई लत्याएर उनी नेपाल छिरे। जतिखेर उनको खाइलाग्दो शरीर र आकर्षक अनुहारमा धेरै युवतीहरू लट्ठ पर्थे। त्यही भीडमा बुटवलमा शिक्षक हुँदाताका उनकाे भेट पाल्पाकी यशोधरा गुुबाजुसँग भयाे। चिनजान र भेटघाटपछि क्रमश प्रेमको मुना टुसाउन थाल्यो।

दिनहरु बित्दै गए। एकदिन टेकबहादुरले यशोधराको सिउँदोमा सिँदुर हाले। जीवनभरि साथ दिने बाचा गर्दै अँगालोमा बेरे। क्षेत्रीको छोरोे भएपनि नेवार समुदायको युवतीसित बिहेगरी समाजमा एउटा विद्रोहमात्र गरेनन् मन मिलेको खण्डमा अन्तरजातीय विवाह एक उदाहरण हुनसक्छ भन्ने नजिर स्थापित गरे।

बिहेपछि याे दम्पती पाेखरा झर्याे। त्यहीबीचमा टेकबहादुर साझा यातायातकै पाेखरा शाखामा जागिरे भए। जहाँ याे दम्पतीले बचेखुचेकाे समय रेष्टुरेन्ट चलाएकाे थियाे। २०२९ सालदेखि ०३८ सालसम्म सात वर्ष चिप्लेढुंगामा टेकबहादुर दम्पतीकाे व्यवसाय चल्याे त्यहीबीच उनीहरुकाे दुइ छाेराछाेरी जन्मिसकेका थिए। जिम्मेवारीकाे बाेझ थपिदाे थियाे।

त्यसपछी एकदिन उनीहरुलाई लाग्यो, अव काठमाडौँ जानु पर्छ। त्यही योजना अनुसार अधिकारी दम्पती सपनाको शहर काठमाडौँ छिर्याे।

शहर छिरेपछि टेकबहादुरले पुल्चाेककै साझा यातायातमा जागिर निरन्तर गरि नै रहे। तीनसय पचास मासिक तलव थाप्थे उनी। “प्रशासनीक फाँटमा थिए म। र सरकारी जागिरले हाम्लाई राम्राे भरथेग गरेकाे थियाे। म जागिर खाएर आउँथे, तर श्रीमती खाली बसेको देख्दा देख्नेहरुले केही व्यवसाय गर्न सुझाए,“ अधीकारीले सुनाए।

दिनभरि जागिर खाँदा टेकबहादुरको समय सजिलै बित्ने भयाे नै। श्रीमतीकाे खासै काम थिएन। आफ्ना दुइ सन्तान मध्य छोरालाई भारतमै हजुरआमासित छाेडिएकाे थियाे। साथमा एक छाेरी मात्र थिइन्।

भारततिर नै सुरक्षानिकायमै काम गरेर अवकाश पाएर फर्केकाहरुले श्रीमतीलाई केही काम गर्न लगाउनु भनेर सुझाव दिए उनलाई । तर गर्ने पो के ? एकदिन फेरि कसैले पान पसल चलाउने सल्लाह दियो।

तर बाबुबाजे सेनामा जागिरे। “फौजीका छोरा हामलाई कहाँ यो काम आउनु, हामी कहाँ क्षेत्रीको छोरो। कहाँ यो काम जान्नु ? त्यहाँमाथि पहाडीयाको सन्तान,“ टेकबहादुरले सुनाए।

भारतमा बसेको भएपनि सेनाभित्रको अनुशासनले टेकबहादुरलाई पान खाने छुट थिएन। बाबुकाे कठाेर अनुशासनमा उनी हुर्किए।  “यो काम चौरसीयाहरुको हो के बाबु। चौरसीयाभित्रपनि बडैहरुले यो काम गर्ने हो, हाम्ले पान खाएको भए पो जान्नु, न बाबुबाजेले गरे,” टेकबहादुरले लामो हाँसो हालेर सुनाए।

चौरसीयाहरुको मुलथलो भारत हाे। र आफूले यही व्यवसाय गर्न थालेको धेरैवर्ष पछि मात्र राजामहाराजाहरुले तिनीहरुलाई काठमाडौं झिकाएको चाल पाएकाे उनले सुनाए।
“यिनीहरु भारतीय मुलका हुन्, यिनीहरुलाई राणाका साथै राजामहाराजाहरुले यहाँ झिकाएका हुन्,” उनले बताए।

सवैकाे सुझावलाई मनन गरेर एकदिन काठमाडौँ शहरमा डुल्दै जाँदा अनेक व्यापारलाई नियाले अधिकारी दम्पतीले। “हाे, त्यतिबेला देखी नै मैलै‌ काठमाडौं रनिङ मार्केट र ललितपुर, भक्तपुर स्टक मार्केट रहेछ भन्ने कुरा बुझे। काठमाडौं भनेको स्टक मार्केट हैन, रनिङ्ग मार्केट हो, हाम्रो पाटन, भक्तपुर स्टक मार्केट हो, गाँउले मार्केट हो अहिलेपनि।”

जस्तो नेपालगञ्जबाट होस् या डडेलधुराबाट आउने मानिस एक वा दुई दिन बसेर फिर्ने गर्दा त्यो रनिङ मार्केट हुन पुगेको उनले बताए। तर ललितपुर र भक्तपुर विशुद्ध काँठ र गाँउले मार्केट भएको कारण यो स्टक मार्केट भएकाे अधिकारी सुनाँउछन्।

यसरी बजारकाे व्यापारकाे ताैरतरिका बुझ्दै गएपछि एकदिन काठमाडौंको लक्ष्मी पान भण्डार पुगेको उनले सुनाए। जसलाई अहिले जनता पान भण्डार भनिन्छ। “त्यस ठाँउमा पुगेर पान पसल गर्न पर्याे, सामान पाइन्छ भनेर साेधेकाे मात्र के थियाै‌, उताबाट उल्टै प्रश्न आयाे, ‘के गर्न, ‘यसअघि कहिले बनाएको छ? हामी त अक्क न बक्क पर्याै‌,” अधिकारीसँग सम्झनामा अहिले पनि ताजा बनेर बसेको छ त्याे दिन। तीनघण्टा जति त्यसठाँउमा पान बनाएकाे हेरेर बसेपछि सामानको व्यवस्था गरिदिएको उनले सुनाए।

“हाम्लाई सोध्ने उनी पुरुषोतमका पिताजी हुन्। उनी नै लक्ष्मी पान भण्डारका मालिक। हामी हेर्दै थियों, उनले पानको पत्ता, खयर, सुपारी, जर्दा सर्दा गरेर ६५ रुपैयाँको हालिदिए। त्यसलाई सपोट गर्नकोलागि विस्केट, चुरोट, पाँउसाँउ गरेर वाँकि ५ सय रुपैयाँको हालिदिए,” उनले भने।

सामान त ल्याए तर कहाँ चलाउने निश्चित थिएन। त्यतबेला उनीहरु दमकल अगाडी पुल्चोकमा बस्थें। सोच्दासोच्दै त्यहि साझाको मुख्य गेटमा बस्ने सल्लाह अनुसार श्रीमतीले बाहिर व्यापार सुरु गरेको उनले सुनाए। ”म साझाको हाकिम, मेरी श्रीमति बाहिर पान बेच्ने, हामीलाई पान बनाँउन आँउथेन, सत्य कुरो। कठ्ठा लगाउने चम्चाले, चुना लगाउने नाइफले, सुपारी काटने हसिँयाले, सराैता समाउँन आँउदैन थियाे। यसरी २० वटा पानको पताले शुरु गर्यौ,” टेकबहादुरले सुनाँउदै गए।

उनीहरुले त्यहाँ चुरोट, बिस्कुट पाँउ यस्तैउस्तै बेच्थे। मनिसहरु आफै पान बनाएर खान्थे, पैसा राख्दीनथे। पान बनाउन आउने कुरै भएन।मानिसहरुले आफै‌ बनाएर खाँदै जाँदा क्रमश उनीहरुले जान्दै गए।

साझाकै एकजना कर्मचारीले सानो टेवल बनाएर दिएको बेञ्चबाट उनीहरुको व्यवसायीक यात्राको थालनी भएकाे थियाे। एक सुका, एक माेहाेर र पचहतर पैसाका दरका पान बेच्ने गरिन्थ्याे। 

व्यापार शुरु गरेकाे त्याे फुटपाथमा सँधै बस्न स्वास्थ्यकाे दुष्टिकाेणले उचित नहुने देखिएपछि उनीहरुले आठ महिनापछि त्याे ठाँउ छाडे। जतिबेला छोरी सानै थिइन। त्यसपछि पुल्चोकको अहिलेको दलिन रेष्टुरेन्ट भएको ठाँउमा भित्रपट्टि आफू बस्ने र बाहिरपट्टीकाे एउटा काेठाबाट पसललाई निरन्तराता दिएकाे टेकबहादुर बुबाले सुनाए।

“बाबुकाे मुख हेर्ने कतिखेर, आमाकाे मुख हेर्ने कतिखेर, तिहारमा के जान्छ याे सव केही थाहा थिएन, यहाँ पनि मान्छेहरुले बनाउने खाने र पैसा राखदिने,” बुबाले सुनाए।

अधिकारी दम्पतीकाे पानपसल त्यतिबेला शुरु भएकाे हाे जति बेला पानकाे पत्ता पाँच पैसा, दश पैसा, सुपारी १२ रुपैयाँ किलाे आँउथ्याे।

सात वर्ष चलाए पछि कुन पर्वमा कस्ताे र कति पान बिक्री हुन्छ भन्ने यसबीचमा उनीहरुले बुझे। विस्तारै पसलले गति लिन थाल्याे। उनीहरुकाे खुसीकाे सीमा फैलिदै थियाे।

०३८ सालमा आठ महिना पुल्चाेक साझा छेउ राखेपछि पुल्चाेककै दमकलअघी सारियाे।

सात वर्ष त्यहाँ चलाएपछि नजिकै मूलसडक छेउ अहिलेकाे गुणज्यास आसपासमा पैतिस वर्ष चलाएर धेरै ग्राहकहरु बटुले अधिकारी दम्पतीले । एउटा ब्राण्डकाे रुपमा व्यवसाय स्थापीत हुँदै गयाे विस्तारै।

पुल्चोकमा निरन्तर चालीस वर्ष पान पसल चलाएका टेकबहादुर अधिकारी विगतका ति दिनहरु सम्झन्छन्। “कहाँ बाबु त्यतिबेला भात नै खान मुश्किल हुनेबेलामा पान खाने चलन नै त्यति थियो र, हामीले शुरुवात गर्दा सीमित ग्राहकहरु आउने गर्थे,” उनले बताए।

सात दशक कटेका अधिकारी दम्पती देखेर ग्राहक जति चकित हुन्छन्, त्योभन्दा कयौं गुणा प्रभाव यहाँको पानको स्वादले पार्छ।

हो, त्यही समयदेखि ललितपुरको पुल्चोकमा जानीनजानी कनिकुथि शुरु गरेको व्यपार नै हो आजको बंगलामुखी पान भण्डार। पानसँगै अरु खित्रिङमित्रिङ सामानबाट शुरु गरेको त्यही पसलको व्यापारले टेकबहादुर र यशोधरालाई शहरमा नाम र दाम दुवै दिएको छ यतिखेर। आर्थिक रुपमा बलियाे बनेका छन् उनीहरु।

ललितपुरकै धापाखेलकाे भण्डारी टाेलमा जीवनभरिकाे कमाइले बनेकाे सुन्दर घर छ। अनि त्यसैभित्र अधिकारी परिवारकाे खुसी फक्रीरहेकाे छ। छाेराछाेरीले उच्चशिक्षा पाएर राम्रै ठाँउमा जागिर पाएका छन्। अहिले त नातिनातिना स्कूल जाने भइसके। “छाेराले पुनाबाट पाेष्ट गय्राजुएट गर्याे, अहिले कमलादीमा रहेकाे चिर्यस अनलाईनमा जागिर छ, छाेरीले साेसाेलाेजीमा पिएचडी गरिन। उनकाे विहे भएर विराटनगरमा छिन,” उनले सुनाए।

अहिलेका युवाले फेसनका रूपमा पनि पान खान थालेको अधिकारी दम्पतीको अनुभव छ। युवाहरूको रोजाइमा ’मिठा पान’ पर्छ। उनीहरू सूर्ती मिसिएको खान मन पराउँदैनन्। पान अनेकथरिका हुन्छन, जस्ताे नेपालमा कतिपय चीज व्याण्ड छन्। जस्ताे कस्तुरी पाँउदैन। त्याे कस्तुरी हालिएकाे पान खायाे भने सुहागरात सुखदमय रहने अधिकारीले बताए।

सूर्ती मिसिएको पान व्यस्कहरुकाे राेजाइमा पर्ने गरेकाे टेकबहादुर सुनाउँछन्।

’कुनैबेला दसैंतिहारमा पान खान लाइन बस्नुपर्थ्यो, अहिले त व्यापार स्वातै घट्याे। आमाकाे मुख हेर्ने, बाबुकाे मुख हेर्ने दिन अलि ज्यादा बिक्री हुने गरेकाे उनले सुनाए। उनी भन्छन्, ’बिहे–ब्रतबन्धको सिजनमा त झन् एक दिनअगाडि अर्डर लिएर मात्र काम गर्थ्यौं।’

उमेरले ७४ वर्ष टेक्यो। लगातार शहरमा पानसँग रम्दा र बेच्दाबेच्दा घुँडाको नसा च्यापिए। दशचाेटी प्लाष्टिक सर्जरी भैसकेकाे छ। हिँड्न मुश्किल छ। लौरो साहारा बन्न थालेको छ। आँखा धमिला हुँदै गएका छन्।

भारतबाट नेपाल प्रवेश गर्नेहरुले विस्तारै नेपालमा पान खाने चलनको शुरुवात गरे। यो क्रमश विस्तार हुन थाल्यो। योसँगै भारतमा वसेर नेपालमा भूमिगत राजनीति गर्नेहरुले समेत नेपालमा पान कल्चरको शुरुवात गरेको मान्न सकिन्छ। भारतमा अध्ययनकालागी गएका मानिसहरुले पनि नेपालमा विस्तारै पान खाने चलन भित्राए।

पाटन शहरको पुल्चोकमा आज भन्दा चालीस वर्षअघि टेकबहादुरले शुरु गरेको पानको इतिहास सय वर्ष लामो हैन। तर यही पानपसलको रोचक किस्सा लामो छ। जति सुन्यो उति सुनौं सुनौं लाग्छ।

हो, शहरमा हिजोजस्तो आज हातमा गन्न सकिने पान पसल कहाँ छ र ? गल्लीपिच्छे खुलेका पानपसलहरुको भीडमा ललितपुरको बगलामुखी पान पसलको इतिहास बेग्लै छ।

’फेमस पान पसल’ को रुपमा पनि चिनिने यो पान पसल आजकाे स्थानमा आइपुग्नुकाे श्रेय यशोधरा गुबाजु र टेकबहादुर अधिकारी दुवैलाई बराबर जान्छ।

“विजनेसमा तीनता चीज आँउदाे रहेछ, एउटा हुन्छ व्यवहार, आफ्नाे राम्राे व्यवहार हुन पर्याे। न‌म्वर दुई क्वालिटी हुनपर्याे, कुन क्वालिटीकाे छ, फेरि क्वान्टीटि। त्यसमा बल्ल रेटकाे हाम्ले निर्धारण गर्न सक्छाै‌। यी तिन चीजले बल्ल विजनेसलाई बढावा दिन्छ। बिजनेसमा याे पढाउछ कि पढाउँदैन ‘आई डन्ट नाे,” उनले आफ्नाे व्यापारकाे अनुभव सुनाए।

प्रत्येक दिन नयाँ अनुभव सँगाल्दै नयाँ क्वालीटि दिन सक्नु नै सफल विजनेसकाे आधार ठान्ने टेकबहादुर दम्पतीले समय कटाउनकाेलागी शुरु गरेकाे व्यवसायले सरकारी जागिर नै छाेडेर पूरासमय पान पसलमा बस्न पर्ने अवस्था भयाे।

नेवार समुदायकाेबीचमा आएर व्यवसाय थालनी गर्दा “ही इज इण्डिएन” भनेर धेरैकाे हप्काइ सहन परेकाे उनले सुनाए। तरपनि सवैलाई मुख फर्काउन आवश्यक ठानेनन। निरन्तर व्यवसायमा रमाई नै रहे।

पसलको पानले नेपाली मात्र नभई विदेशी समेतलाई लोभ्याउँछ। पान पारखीहरू यो पसल खोज्दै टाढादेखि आउँछन्।उमेरले सात दशक पार गरिसकेका अधिकारी दम्पती संयोगले पान व्यवसायी बन्न पुगे। कसैकाे लहडमा थालेकाे व्यवसायले याे दम्पतीलाई पछि फर्केर हेर्नै परेन्।

टेकबहादुर पहाडिया मुलका हुन्। बाध्यताले उनी भारत पुगे। त्यहाँको भाषारहनसहन सवै बुझे। विषेशगरि भारतीय मुलका मानिसहरुले गर्ने काम गर्दा धेरैले ‘मरस्या’ पनि भनेर हेप्ने गरेको तीतो अनुभव छ टेकबहादुर बुवासँग। काम गर्दा भोगेका अनेक हण्डरले उनलाई शहरमा जीउँन सिकायो।

अनुभव सुनाउँदै उनले भने, ’कसैले कुनै पनि सीप जन्मजात लिएर कहाँ आएको हुन्छ र? सिक्दै जाने हो, मैले पनि पसल थापेपछि मात्रै जानेको हुँ।’

लामो समय पानको व्यापार गर्दागर्दै खोकीको पानसमेत बिक्री गरिन थालेकाे छ। बंगलामुखी पान पसलले कोरोनाको समय धेरै व्यापार गर्याे। टेकबहादुरकै पसलमा दुई जनाले रोजगारी पनि पाएका छन्। सिन्धुपाल्चाेकका श्याम कृष्ण श्रेष्ठ र बिक्रम बाेहराले राेजगारी पाएका छन्। कामप्रति उनीहरु खुसी रहेकाे भेटिए।

राम्राे व्यापार हुँदा दिनकाे पन्ध हजारसम्म व्यापार हुने गरेकाे भएपनि साधारणतया कम व्यापार हुँदा पनि सातआठ हजार दैनिक व्यापार हुने गरेकाे टेकबहादुरले सुनाए।

मुख्य सडकमा हुँदाकाे व्यापारकाे तुलनामा आधा घटेकाे छ भित्रि गल्लीमा सरेपछि। ६ महिनाअघिमात्र भित्रि गल्लीमा सारिएकाे पसलमा पुराना र नियमित ग्राहक साेध्दैखाेज्दै पुग्ने गरेका छन्। शहरबजार मात्र हैन देशविदेशमा सम्म ब‌गलामुखी पान भण्डारका पारखीहरु छन्। 

पानको महत्वको बारेमा सहरका सबै ब्यबसायीको आआफ्ना तर्क भएपनि टेकबहादुर यसलाई आफ्नै हिसाबमा बुझाउँछन्। ’पानको पातले प्रेम दर्शाउँछ। तर यसको पूजाआजामा पनि उत्तिकै प्रयोग हुन्छ,’ उनले भने।

नेपाली समाजमा पानको विशेष महत्व रहेका कारणले पनि धार्मिककार्य विवाह व्रतबन्ध, पूजापाठका साथै पितृ कार्यमा पान नभै नहुने अधिकारी बताँउछन्। त्यति मात्र नभई रूघाखोकी लाग्दा, सुत्केरी हुँदा पनि पान खाए छिटो ज्यान तंग्रिने उनकाे विश्वास छ। धनाढ्यहरूले भोज–भतेर गर्दा प्रतिष्ठाका रूपमा पान उपयोग गर्ने चलन रहेको उनले बताए। शरिरकाेलागी पानकाे उतीकै महत्व रहेकाे उनकाे भनाइ छ।

“पान एउटा हर्वल पत्ता हाे। पानमा बहुत पावर छ। खाली पानकाे पत्ता मात्र चपाँउदा दमलाई राम्राे गर्छ। सुपारीले डाइजेष्ट गर्छ। खयरले हाम्राे रगतलाई सफा गर्छ। चुनाले दाँत बलियाे बनाँउछ।”

पानलाई बुझेर खाँदा राम्राे हुने तर हिजाेआज युवापुस्तामाझ फायर पान खाने चलन बढ्न थालेकाेमा चिन्तीत भेटिए उनी। आफूहरुले त्यसखाले पान अहिलेसम्म नवेचेकाे उनले बताए।

साधारणतया चालीस रुपैयाँकाे पान देखि अर्डर अनुसारकाे पान बिक्री हुने गरेकाे छ। पान बेचेर शहरमा टेकबहादुर बुवाले नाम र इज्जत दुवै कमाए। ‘याे कामले सवभन्दा ठूलाे कुराे मलाई इज्जत दियाे,’ नेपाल पान व्यवसायी सँघका अध्यक्ष समेत रहेका उनले सुनाए।

देशैभर साठी हजार पान पसलमा आश्रित सवालाख मानिसलाई वेराेजगार हुनेगरि सरकारले वेलाबखत लगाउने गरेकाे सुर्ति र सुपारीजन्य साम्रगीमाथीका अनेक बन्देजले पान व्यवसायी समस्यामा पर्ने गरेका छन्।

त्यसकाे विराेधमा बुबाले धेरै आवाज मात्र उठाएनन मिडियमा बाेले। तरपनि समस्या समाधान हुन नसकेकाेमा चिन्तित भेटिए उनी। ‘उद्याेगले हाम्लाई इजाजत दिन्छ, तपाई सुर्तिजन्य साम्रगी बेच्नुस् भनेर, जव त्याे इजाजत दिइसकेपछि फेरी हाम्ले किन सामान बेच्न नपाउने?’ उनकाे प्रश्न छ।

यदी गैरकानुनी हाे भने त एक्सनमा उत्रिन सक्नु पर्याे नी, हैन भने उद्याेगले अनुमति दिने तर सरकारका प्रतिनिधिहरु अनेक खाले अ‌कुशमा उत्रिनु राम्राे हैन,” टेकबहादुर बताँउछन्।

 

 

 

 

Visa Travels