बरुण इन्भेष्टमेन्टले आईपीओ जारी गर्ने, बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल नियुक्त

काठमाडौं । बरुण इन्भेष्टमेन्ट लिमिटेडले सर्वसाधारणमा आईपीओ जारी गर्ने भएको छ । उक्त आईपीओ जारी गर्नका लागि कम्पनीले बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटललाई नियुक्त गरेको छ ।

बुधबार कम्पनी र बिक्री प्रबन्धकबीच भएको सम्झौतामा बरुण इन्भेष्टमेन्ट लिमिटेडको तर्फबाट अध्यक्ष शिवप्रसाद घिमिरे र ग्लोबल आइएमई क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत पारसमणि ढकालले हस्ताक्षर गरेका छन् ।

ads

बिक्री प्रबन्धक नियुक्तिपछि कम्पनीको आईपीओ निष्काशनका लागि आवश्यक प्रक्रिया अघि बढ्नेछ । २०७७ सालमा पब्लिक कम्पनीको रूपमा स्थापित यस कम्पनीको अधिकृत पूँजी ६० करोड रुपैयाँ र जारी पूँजी ५५ करोड रुपैयाँ रहेको छ । हाल कम्पनीमा संस्थापक समूहतर्फको ७७ प्रतिशत सेयर स्वामित्व कायम छ । १७ जना संस्थापक सेयरधनीहरूबाट ४० करोड रुपैयाँ बराबरको पूँजी चुक्ता भएको छ ।

ऊर्जा क्षेत्रमा लगानी गर्ने यस कम्पनीमा एसजी ग्रूपको मुख्य लगानी छ । कम्पनीले बझाङ जिल्लामा १५ दशमलव ३३ मेगावाट क्षमताको कलंगा हाइड्रो, ३८ दशमलव ४७ मेगावाट क्षमताको सानीगाड हाइड्रो र १० दशमलव ७० मेगावाट क्षमताको बुङगल हाइड्रो गरी तीन ओटा हाइड्रो कम्पनीमा कुल ६४ दशमलव ४९ मेगावाट विद्युत् शक्ति उत्पादन गर्ने गरी लगानी गरेको छ ।

Visa Travels