तत्काल नयाँ ब्रोकरको लाइसेन्स नखुल्ने, तीन वर्ष पछि पनि बोर्डको अध्ययनमा निर्भर

नेपाल धितोपत्र बोर्डले तत्काल ब्रोकर लाइसेन्स नखुलाउने गरि नियमावली संशोधन गरेको छ । मन्त्रिपरिषदले पारित गरेर पठाएको धितोपत्र व्यवसायी (धितोपत्र दलाल तथा धितोपत्र ब्यापारी) (चौथो संशोधन) नियमावली, २०७९ बोर्डले सार्वजनिक गरेको छ ।

संशोधित नियमावली अनुसार यो नियमावली प्रारम्भ भएको तीन वर्षपछि बोर्डले धितोपत्र बजारमा उपलब्ध भौतिक सुबिधा, बजारको आवश्यकता, प्रतिस्पर्धाको अवस्था समेतको अध्ययन गरी धितोपत्र दलाल र धितोपत्र व्यापारीको लागि नयाँ अनुमतिपत्रको लागि निवेदन माग गर्ने उल्लेख छ ।

ads

यही बुँदामा ब्रोकर लाइसेन्स खुलाउने/नखुलाउने बारे चलखेल हुन सक्ने पर्याप्त ठाउँ राखेको छ । यस व्यवस्था अनुसार तीन वर्ष पछि पनि ब्रोकर लाइसेन्स खुल्ने वा नखुल्ने टुङ्गो छैन । लाइसेन्स खुलाउने वा नखुलाउने सबै बोर्डको अध्ययनमा निर्भर हुनेछ । यदि बोर्डको अध्ययनले थप ब्रोकर आवश्यक नरहेको निष्कर्ष निकालेमा नयाँ ब्रोकर लाइसेन्सको च्यापटर क्लाज हुनेछ । विभिन्न समुहको दबाब, प्रलोभन जस्ता कुराले बोर्डको अध्ययन प्रभावित हुने सम्भावना बढी देखिन्छ ।

नियमावली प्रारम्भ भएको तीन वर्षपछि ३० दिनको समय दिई इच्छुक संगठित वा कम्पनीबाट दलाल र धितोपत्र व्यापारीको लागि निवेदन माग गर्नेछ।

नियमावली अनुसार अब सिमित कार्य गर्ने ब्रोकर, पूर्ण कार्य गर्ने ब्रोकर र स्टक डिलर गरी ब्रोकरको ३ तहको ब्रोकर रहने छ । जसमा सिमित कार्य गर्ने ब्रोकरको चुक्ता पुँजी २० करोड, पूर्ण कार्य गर्ने ब्रोकरको चुक्ता पुँजी ६० करोड र स्टक डिलरको चुक्ता पुँजी १ अर्ब ५० करोड तोकिएको छ ।

हाल सञ्चालनमा रहेका ब्रोकरहरुलाई निर्धारित पुँजीको पुर्याउन २०८२ सालसम्मको समय दिईएको छ।

Visa Travels