भर्खरै मात्र सर्वसाधारणलाई आईपीओ निष्काशन गरेको सयपत्री हाइड्रोपावर कम्पनीले गत आर्थिक वर्षको चौथो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ ।
उक्त वित्तीय विवरण अनुसार कम्पनीले असार मसान्तसम्म १ करोड ५० लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा अघिल्लो आर्थिक वर्षको तुलनामा ४८ प्रतिशतले धेरै हो । अघिल्लो आवमा कम्पनीले १ करोड १ लाख रुपैयाँ नाफा कमाएको थियो । गत आर्थिक वर्षमा कम्पनीको आम्दानी बढेपछि नाफा वृद्धि भएको हो ।
सो अवधिमा कम्पनीको प्रत्यक्ष आम्दानी ६ करोड ६४ लाख पुगेको छ । अघिल्लो आर्थिक वर्षमा यस्तो आम्दानी ५ करोड ५३ लाख रुपैयाँमा सीमित थियो ।
कम्पनीको नाफा वृद्धि भएसँगै प्रतिसेयर आम्दानी पनि बढेको छ । कम्पनीको प्रतिसेयर आम्दानी ४ रुपैयाँ ८४ पैसाबाट बढेर ७ रुपैयाँ १८ पैसा पुगेको छ । मूल्य आम्दानी अनुपात १४ गुणा र प्रतिसेयर नेटवर्थ ८१ रुपैयाँ १६ पैसा रहेको छ ।
त्यसैगरी कम्पनीको चुक्तापूँजी २१ करोड रहेको छ । कम्पनीले साउन १३ देखि १७ गतेसम्म सर्वसाधारणका लागि कुल ७ लाख २१ हजार ६० कित्ता साधारण सेयर निष्काशनमा ल्याएको थियो ।