काठमाडौं । टिभिएस इलेक्ट्रिक स्कुटर नेपाली बजारमा भित्रिएको छ । टिभिएसको लागि नेपालको आधिकारिक बितरक जगदम्बा मोटर्सले नेपालमा प्रिमियम टिभिएस आईक्युब इलेक्ट्रिक स्कुटर भित्र्याएको हो । कम्पनीले नाडा अटो शोका अवसर पारेर बहुप्रतिक्षित मोडल सार्वजनिक गरेको जनाएको छ ।
क्लास लिडिङ पर्फमेन्सयुक्त आइक्युब गुणस्तरीय आरामदायी एवं सुरक्षित रहेको कम्पनीको दाबी छ । सार्वजनिक कार्यक्रममा टिभिएस मोटरका निर्देशक एवं प्रमुख कार्यकारी अधिकृत केएन राधाकृष्णनले कम्पनी सधै नयाँ प्रविधि अपनाउन अगाडि रहँदै अटोमोबाइल उद्योगमै नयाँ मापदण्ड खडा गर्दै आउन सफल भएको दाबी गरे । जगदम्बा समूहका अध्यक्ष साहिल अग्रवालले लुक्स, निर्माण गुणस्तर, प्रविधि र क्षमताका कारण यो स्कुटर चाँडै नै नेपालीमाझ लोकप्रिय बन्ने विश्वास व्यक्त गरे ।
यसमा ३२ लिटरको अन्डर सिट स्टोरेज, फराकिलो फ्लोरबोर्ड र ब्यागेज हुकले यात्रामा पर्याप्त सहजता प्रदान गरेको छ । यसमा भएको ४.६ किलोवाट हब माउन्टेड मोटरद्वारा सञ्चालित टिभिएस आइक्युबले ७८ किलोमिटर प्रतिघन्टाको टप स्पिड प्रदान गर्दछ । साथै, मात्र ४.२ सेकेन्डमा शून्यदेखि ४० किलोमिटर प्रतिघन्टासम्म एक्सिलिरेसन दिन्छ । टिभिएस आइक्युब नयाँ युगको प्रविधि र स्मार्ट सुविधासाथ भरिपूर्ण छ ।
टिभिएस स्मार्ट एक्स कनेक्ट प्लेटफर्ममा नेभिगेसन प्रणाली, टेलिमेटिक्स युनिट, एन्टी–थेफ्ट, जियोफेन्सिङ सुविधा, क्र्यास/फल अलर्ट जस्तै सुविधा आएका छन् ।
कुनै पनि स्मार्ट फोनलाई टिभिएस आइक्युब एपसँग कनेक्ट गरेर स्कुटरको ब्याट्री स्टाटस र अन्य अवस्था जाँच गर्नुका साथै म्युजिक कन्ट्रोलको सुविधा पनि छ । प्रिमियम सुविधासहितको टिभिएस आइक्युब पहिलो १ हजार ग्राहकका लागि ४ लाख २९ हजार ९ सय रुपैयाँ उपलब्ध छ ।