काठमाडौं । नेपालको सवैभन्दा ठूलो र भव्य रुपमा सम्पन्न हुदै आएको ‘नाडा अटो शो’ आजबाट शुरु भएको छ । नाडाका अध्यक्ष ध्रुब थापाको अध्यक्षतामा आयोजित एक समारोहका बीच १५औं संस्करणको अटो शो अर्थमन्त्री डा. प्रकाशशरण महतले उद्घाटन गरेका हुन् । राजधानी स्थित भृकुटीमण्डपमा आयोजित अटो शो भदौ ३१ गतेसम्म सञ्चालन हुनेछ ।
उक्त अटो प्रदर्शनीमा ठूला तथा साना गरि करिव १२० वटा स्टल र ब्लकहरु छन् । प्रख्यात अन्तराष्ट्रिय ब्राण्डका सवारी साधन, लुब्रिकेन्ट, टायर, पार्ट–पुर्जाका साथै राष्ट्रिय ब्राण्डका अटो सामग्री उत्पादक एवं वस्तु तथा सेवा प्रदायकहरुको सहभागिता रहेको छ ।
प्रदर्शनीमा १६ वटा ब्राण्डका चार पाङग्रे, २२ वटा ब्राण्डका दुई पाङग्रे, सात वटा ब्राण्डका लाइट कमर्शियल भेहिकल, ३० वटा लुब्रिकेन्ट, टायर, ब्याटरी, पार्ट–पुर्जा एवं ग्यारेज उपकरण कम्पनीहरुको सहभागिता छ ।
अवलोकनकर्ताको सुविधालाई विशेष ध्यानमा राखी २–पाङग्रे, ४–पाङग्रे, वित्तिय संस्था, अटो कम्पोनेन्ट्स् एवं ग्यारेज उपकरणहरुको छुट्टा–छुट्टै प्रदर्शन गरिएको छ ।
यस पटक मेलामा २० अर्ब रुपियाँभन्दा बढीको कारोबार हुने अनुमान गरिएको नाडाका अध्यक्ष थापाले बताए ।
अटो शोमा रु. २०० को प्रवेश टिकट व्यवस्था गरिएको छ । विद्यार्थीहरुका लागि भने प्रवेश शुल्क रु. १५० कायम गरिएको नाडाले जनाएको छ ।