काठमाडौं । बिन्ध्याबासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको वित्तीय विवरण प्रकाशन गरेको छ ।
चालु आर्थिक वर्षको असोज मसान्तसम्म कम्पनीको खुद नाफा ७२.७२ प्रतिशतले बढेर ६ करोड १५ लाख ३९ हजार रुपैयाँ पुगेको छ । गत वर्ष यसले ३ करोड ५६ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो ।
विद्युत बिक्रीबाट हुने आम्दानी बढ्दा नाफामा सुधार आएको हो । असोजसम्म यसले १४ करोड ६८ लाख ९२ हजार रुपैयाँ बराबरको विद्युत बिक्री गरेको छ । गत वर्ष १० करोड १२ लाख रुपैयाँ थियो ।
कम्पनीको वित्तीय खर्च ३ करोड ४७ लाखबाट बढेर ३ करोड ६५ लाख रुपैयाँ पुगेको छ ।
हाल यस कम्पनीको चुक्ता पुँजी १ अर्ब ५ करोड रुपैयाँ रहेको छ । असोजसम्म आइपुग्दा कम्पनीको प्रतिसेयर आम्दानी ५ रुपैयाँ ८६ पैसा देखिएको छ । यसको प्रतिसेयर नेटवर्थ भने ११९ रुपैयाँ ५६ पैसा छ ।