काठमाडौं । नेरुडे लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्ष२०८०/८१ को पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ।
चालु आर्थिक वर्षको असोज मसान्तसम्म आइपुग्दा संस्थाको खुद नाफा ४३.९४ प्रतिशतले घटेर १ करोड ९० लाख रुपैयाँमा सीमित बनेको छ । गत आर्थिक वर्षको सोही अवधिसम्ममा लघुवित्तले ३ करोड ३९ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।
संस्थाको खुद ब्याज आम्दानी ११.३५ प्रतिशत घटेर १२ करोड ६० लाख रुपैयाँमा खुम्चिएको छ । गत आर्थिक वर्षको सोही अवधिसम्ममा लघुवित्तको यस्तो आम्दानी १४ करोड २१ लाख रुपैयाँ रहेको थियो ।
संस्थाको सञ्चालन मुनाफा ४९.१७ प्रतिशत घटेको छ। गत आर्थिक वर्षको पहिलो त्रैमासमा ५ करोड ३५ लाख रुपैयाँ सञ्चालन मुनाफा आर्जन गरेको संस्थाले चालु आर्थिक वर्षको सोही अवधिमा २ करोड ७२ लाख रुपैयाँ खुद ब्याज आम्दानी आर्जन गरेको छ ।
असोज मसान्तसम्ममा लघुवित्तको वितरणयोग्य मुनाफा ५१ लाख ९३ हजार रुपैयाँ रहेको छ।
लघुवित्तको निष्क्रिय कर्जा समीक्षा अवधिमा ४.९३ प्रतिशतबाट बढेर ५.५२ प्रतिशत पुगेको छ। यससँगै लघुवित्तले इम्पेरमेन्ट चार्जबापत २ करोड ५१ लाख रुपैयाँ छुट्याएको छ।
नाफासँगै लघुवित्तको प्रतिसेयर आम्दानी पनि घटेको छ। समीक्षा अवधिमा लघुवित्तको यस्तो आम्दानी १२ रुपैयाँ २४ पैसा घटेर १० रुपैयाँ ४१ पैसामा झरेको छ। असोज मसान्तसम्ममा लघुवित्तको प्रतिशेयर नेटवर्थ १८० रुपैयाँ ७९ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ५३.८१ गुणा रहेको छ।
७३ करोड २० लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस लघुवित्तको जगेडा कोषमा ५९ करोड १३ लाख रुपैयाँ सञ्चित छ। लघुवित्तको जगेडा कोष समीक्षा अवधिमा ३.८० प्रतिशत बढेको हो। असोज मसान्तसम्ममा लघुवित्तले ९ अर्ब १२ करोड १४ लाख रुपैयाँ निक्षेप तथा सापटीबाट १० अर्ब ६३ करोड ७५ लाख रुपैयाँ कर्जा लगानी गरेको छ।