काठमाडौं । सरकारले अर्थतन्त्र थप चलायमान बनाउन निजी क्षेत्रको सुझाव लिने भएको छ । अर्थतन्त्रका वर्तमान समस्या समाधानका लागि सरोकारवाला सरकारी निकाय र निजी क्षेत्रलाई एक ठाउँमा राखेर छलफल गर्ने भएको हो ।

देशको वर्तमान अर्थतन्त्रबारे छलफल गर्न सोमबार साँझ प्रधानमन्त्रीनिवास बालुवाटारमा बसेको बैठकले अर्थतन्त्रलाई चलायमान बनाउन निजी क्षेत्रसँग सुझाव लिने निर्णय गरेको हो । मंगलबार निजी क्षेत्रसँग छलफल गर्ने निर्णय भएको अर्थमन्त्री डा. प्रकाशशरण महतले जानकारी दिए।

‘समग्र अर्थतन्त्रलाई थप चलायमान बनाउन सुझाव, सल्लाहसहित थप के गर्न सकिन्छ भन्ने विषयमा सरकारले निजी क्षेत्रसँग भोलि दिउँसो २ बजे प्रधानमन्त्री कार्यालय सिंहदरबारमा छलफल गर्ने निर्णय भएको छ,’ अर्थमन्त्री डा. महतले भने, ‘आन्तरिक संरचनामा के उपलब्धि भयो, वर्तमान समस्या र चुनौती तथा आगामी कार्यदिशा के लिएर अगाडि बढ्दै छौँ भन्ने विषयमा निजी क्षेत्रको पनि सुझाव लिने योजना रहेको छ ।’

प्रधानमन्त्रीको कार्यालयबाट निजी क्षेत्रलाई मंगलबारको छलफलका लागि बोलाइएको छ । निजी क्षेत्र र सरकारी निकायका प्रतिनिधिसहितको सर्वपक्षीय छलफलका लागि भन्दै निम्तो आएको नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले बताए ।

‘राष्ट्रिय अन्तर्राष्ट्रिय परिस्थिति, घटनाक्रम तथा नीतिगत कमजोरीका कारण अर्थतन्त्र मन्दीमा गएको छ, अर्थतन्त्रको अहिलेको समस्या कुनै एक व्यक्ति वा संस्थाले मात्रै समाधान गर्न सक्दैन,’ उनले भने, ‘त्यसैले सरकार र निजी क्षेत्र एक ठाउँमा बसेर समस्याको समाधान निकाल्नुपर्छ भनेर महासंघले नै पटक–पटक सुझाव दिँदै आएको थियो, यसर्थ छलफल गर्ने निर्णय स्वागतयोग्य छ ।’ निजी क्षेत्रका तर्फबाट अर्थतन्त्रलाई चलायमान बनाउने सुझाव दिइने उनले बताए ।

बैठकमा अर्थ मन्त्रालय, राष्ट्रिय योजना आयोग, नेपाल राष्ट्र बैंक र विकाससँग सरोकार राख्ने मन्त्रालयका मन्त्री र सचिवलगायतको उपस्थिति थियो । उक्त अवसरमा अर्थमन्त्री महतले देशको अर्थतन्त्रबारे बैठकमा ब्रिफिङ गरेका थिए । त्यसपछि गभर्नर र आयोगका प्रतिनिधिले आफ्ना कुरा राखेका थिए ।

Visa Travels