काठमाडौं । डिजिटल वालेटको कारोबार सफल नभए एकदिन मै पैसा फिर्ता गर्नुपर्ने भएको छ । नेपाल राष्ट्र बैंकले सोमबार भुक्तानी प्रणाली सम्बन्धी एकिकृत निर्देशक जारी गर्दै यस्तो निर्देशन दिएको हो ।
यो निर्देशन अनुसार मानौं, तपाईले ईसेवा नामको वालेटबाट कतै पैसा पठाउनु भयो भने कहिलेकाही कारोबार सक्सेस नहुन पनि सक्छ । यस्तो अवस्थामा पैसा फिर्ता गर्न अहिलेसम्म वालेट कम्पनीहरुले ३ देखि ५ दिनसम्म लगाउने गरेका थिए ।
अब भने एक दिनभित्रै पैसा फिर्ता गर्नु पर्ने राष्ट्र बैंकका कार्यकारी निर्देशक गुरु पौडेलले बताए । एउटा वालेटबाट अर्को वालेटमा पठाउदा कारोबार सक्सेस नभएको अवस्थामा २ दिन भित्र र विदेशमा भएको कारोबार भए ३० दिनभित्र पैसा फिर्ता गर्नुपर्ने राष्ट्र बैंकको निर्देशनमा उल्लेख छ ।
यसअघि निश्चित समय नतोकिँदा कतिपय बैंक तथा सेवाप्रदायकले हप्तौँसम्म पनि यस्तो कारोबारको सेटलमेन्ट नगरिदिने समस्या थियो ।
डिजिटल माध्यमबाट भुक्तानी गर्दा कतिपय अवस्थामा कारोबार असफल भए पनि पठाउने व्यक्ति तथा संस्थाको खाताबाट पैसा काटिए पनि पाउनुपर्ने व्यक्ति तथा संस्थाको खातामा जम्मा हुँदैन । तर, त्यस्तो कारोबारको फोर्स सेटलमेन्ट, रिफन्डमा भने ढिलाइ हुने गरेको छ । त्यसले गर्दा ग्राहकले निकै सास्ती भोग्नुपरेको छ । सोही अवस्थालाई लक्षित गर्दै यसमा समयसीमा तोकिएको राष्ट्र बैंकको भनाइ छ ।
यस नीतिले ग्राहकलाई सहजता प्रदान गर्ने राष्ट्र बैंकका कार्यकारी निर्देशक तथा भुक्तानी प्रणाली विभागका प्रमुख गुरुप्रसाद पौडेलले बताए । साथै, फोर्स सेटलमेन्ट गर्ने दायित्व सम्बन्धित दुवै संस्थालाई हुने उनको भनाइ छ । यसैगरी ग्राहकलाई साबिकमा उपलब्ध गराइँदै आइएको मोबाइल बैंकिङ, इन्टरेन्ट बैंकिङ, एमएमएस बैंकिङजस्ता सुविधा जानकारी नदिई बन्द गर्न नपाइने नीति पनि ल्याइएको छ ।