काठमाडौं । आशा लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्ष २०८०/८१ को पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ।
चालु आर्थिक वर्षको असोज मसान्तसम्ममा लघुवित्तको खुद नाफा २ करोड ६४ लाख रुपैयाँ ऋणात्मक भएको छ। गत आर्थिक वर्षको सोही अवधिसम्ममा लघुवित्तको यस्तो नाफा १ करोड ८६ लाख रुपैयाँ धनात्मक रहेको थियो।
समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी ५.७५ प्रतिशत घटेको छ । लघुवित्तले इम्पेरमेन्ट चार्जबापत १ करोड २० लाख रुपैयाँ छुट्याएको छ। यसका साथै लघुवित्तको कर्मचारी खर्च ३ करोड ७९ लाख रुपैयाँबाट बढेर ७ करोड ४ लाख रुपैयाँ र अन्य सञ्चालन आम्दानी १ करोड ५८ लाखबाट बढेर २ करोड ८६ लाख रुपैयाँ पुगेको छ।
यस्तै, कम्पनीको सञ्चालन घाटा २ करोड ६७ लाख रुपैयाँ रहेको छ । यसअवधिमा लघुवित्तको इन्पेयरमेन्ट चार्ज र खर्च बढ्दा नोक्सानमा हुन पुगेको हो ।
लघुवित्तको निष्क्रिय कर्जा समीक्षा अवधिमा ४.६५ प्रतिशतबाट बढेर ४.९६ प्रतिशत पुगेको छ।
नाफासँगै लघुवित्तको प्रतिसेयर आम्दानी पनि ऋणात्मक भएको छ। असोज मसान्तसम्ममा लघुवित्तको प्रतिशेयर आम्दानी १६ रुपैयाँ ४७ पैसा ऋणात्मक रहेको छ भने प्रतिशेयर नेटवर्थ १४० रुपैयाँ ९८ पैसा रहेको छ।
६४ करोड १६ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस लघुवित्तको जगेडा कोषमा २६ करोड २० लाख रुपैयाँ सञ्चित छ। लघुवित्तको जगेडा कोष समीक्षा अवधिमा ८.२२ प्रतिशत घटेको हो। असोज मसान्तसम्ममा लघुवित्तले ८ अर्ब ५३ करोड ९१ लाख रुपैयाँ निक्षेप तथा सापटीबाट ९ अर्ब १० करोड १३ लाख रुपैयाँ कर्जा लगानी गरेको छ।