नेपाल टेलिकमले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म ५ अर्ब ५९ करोड ३७ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३.३६ प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले ५ अर्ब ४१ करोड रुपैयाँ खुद नाफा कमाएको थियो।
कम्पनीको आम्दानी घटेपनि कर खर्च घटेका कारण खुद नाफामा सामान्य सुधार देखिएको हो।
समीक्षा अवधिमा कम्पनीको आम्दानी ६.८२ प्रतिशत घटेर २५ अर्ब ४८ करोड रुपैयाँमा झरेको छ। गत वर्षको सोही अवधिमा कम्पनीले २७ अर्ब ३४ करोड रुपैयाँ आम्दानी गरेको थियो ।
त्यस्तै, कम्पनीको वित्तीय आम्दानी ८.९० प्रतिशत घटेर ५ अर्ब १९ करोडमा खुम्चिएको छ । सो अवधिमा कम्पनीको वित्तीय खर्च ६६.८२ प्रतिशत घटेको छ।
नाफासँगै कम्पनीको प्रतिसेर आम्दानी पनि बढेको छ। समीक्षा अवधिमा कम्पनीको यस्तो आम्दानी १ रुपैयाँ ३५ पैसा बढेर ४१ रुपैयाँ ४४ पैसा पुगेको छ। चैत मसान्तसम्ममा कम्पनीको प्रतिशेयर नेटवर्थ ५१२ रुपैयाँ ९९ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात २०.१३ गुणा रहेको छ।
१८ अर्ब रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको जगेडा कोषमा ७४ अर्ब ३३ करोड ८६ लाख रुपैयाँ सञ्चित छ।