jyoti bikas bank

ज्योति विकास बैंक लिमिटेडले चालु आर्थिक वर्ष २०८०/८१ को तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ।

चालु आर्थिक वर्षको चैत मसान्तसम्म बैंकको नाफामा गिरावट आएको छ । यो अवधिसम्म बैंकको खुद नाफा २४.४० प्रतिशतले घटेर १५ करोड २४ लाख रुपैयाँमा खुम्चिएको छ। गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले २० करोड १६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।

ब्याज आम्दानी बढेपनि इम्पेरमेन्ट चार्ज बढेका कारण खुद नाफा घटेको हो।

बैंकको खुद ब्याज आम्दानी १.७५ प्रतिशत बढेर १ अर्ब ७० करोड ६८ लाख रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको सोही अवधिमा बैंकले एक अर्ब ६७ करोड ७५ लाख रुपैयाँ यस्तो आम्दानी गरेको थियो ।

कुल सञ्चालन आम्दानी १.५४ प्रतिशत बढेको छ। बैंकको सञ्चालन मुनाफा २३.३१ प्रतिशतले घटेर २२ करोड ७ लाख रुपैयाँमा खुम्चिएको छ ।

समीक्षा अवधिमा बैंकको निष्क्रिय कर्जा ३.८९ प्रतिशतबाट बढेर ४.९७ प्रतिशत पुगेको छ। फलस्वरुप बैंकको इम्पेरमेन्ट चार्ज ७१ करोडबाट बढेर ८३ करोड पुगेको छ।

सो अवधिसम्ममा बैंकको वितरणयोग्य मुनाफा २८ करोड ६६ लाख रुपैयाँ ऋणात्मक रहेको छ भने प्रतिसेयर वितरणयोग्य आम्दानी ८ रुपैयाँ ६९ पैसा ऋणात्मक रहेको छ।

नाफासँगै बैंकको प्रतिसेयर आम्दानी पनि घटेको छ। समीक्षा अवधिमा बैंकको यस्तो आम्दानी १ रुपैयाँ ५९ पैसा घटेर ४ रुपैयाँ ६२ पैसामा झरेको छ। सो अवधिसम्ममा बैंकको मूल्य आम्दानी अनुपात ६३.५९ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १३४ रुपैयाँ २० पैसा रहेको छ।

४ अर्ब ३९ करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस बैंकको जगेडा कोषमा १ अर्ब ५० करोड रुपैयाँ सञ्चित छ। चैत मसान्तसम्ममा बैंकले ६३ अर्ब ४२ करोड निक्षेप संकलन गरी ५० अर्ब ७३ करोड रुपैयाँ कर्जा लगानी गरेको छ।

Visa Travels